Aamsanchar

मेचीदेखि मावासम्म सडक अतिक्रमण

Author Image
मङ्गलवार, जेठ २, २०७४

झापा,

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकस्थित मावा खोलादेखि मेचीनगरको मेची खोलाम्म नै सडक अतिक्रमण हँुदा समेत सम्बन्धित निकाय सडक डिभिजन कार्यालय बेखबर छ । तीन बर्षअघि सडक डिभिजन कार्यालय दमकले सडक अतिक्रमण हटाउन शुरु गरे पनि त्यस यता सडक अतिक्रमण रोक्ने कार्य हुन सकेको छैन ।
झापाका प्रमुख व्यापारिक केन्द्र बिर्तामोड, दमक, काँकरभिट्टा, सुरुङ्गा, केर्खा लगायतका ठाउँमा सडक अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, अस्थायी तथा स्थायी संरचना बनाउने, बालुवागिटी थुपार्ने गरिएको छ । जसका कारण दिनानुदिन सडकमा हिँड्ने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । त्यसमाथि सवारी दुर्घटनाको जोखिम बढेर गएको छ । धेरैजसो अस्थायी रुपमा व्यापार व्यवसाय गर्नेले सडक मिचेको पाइएको छ । पछिल्लो समयमा स्थायी प्रकृतिका संरचना बनिन थाले पनि सडक डिभिजन कार्यालयले चासो दिएको छैन ।
सडक अतिक्रमण गरेर गेट तथा तुल टाँङ्ने काम हुँदा समेत कार्यालय वेखवर बनेको सरोकारवालाले बताएका छन् । गेट तथा तुलहरु टाँङ्नका लागि सडक कार्यालयले अनुमति दिनुपर्ने व्यवस्था रहेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले सडक अतिक्रमणको बिषयमा आफूहरुको ध्यान रहेको भए पनि अहिले अन्य कामको व्यस्तताले त्यो बिषयमा समय दिन नसकिएको बताए । उनले अहिले अन्य काममा व्यस्त भएकाले सडक अतिक्रमणतर्फ काम गर्न नसकिएको स्वीकार गरे । उनले भदौ या असोजमा प्रशासनसँग समन्वय गरेर अतिक्रमण हटाउनका लागि अभियान चलाइने बताए । सडक अतिक्रमण गरेर बनाएका सबै संरचनाहरु भत्काइने उनको भनाइ रहेको छ ।
सार्वजनिक सडक ऐन २०३१मा सडक अतिक्रमण गर्नेलाई कार्वाही गर्ने ब्यवस्था रहेको छ । सडक अतिक्रमणका कारण नै दिनहँु दुर्घटना हुने गरेको भए पनि सडक डिभिजन कार्यालयले भने यसलाई सामान्य रुपमा लिँदै बेवास्ता गरेको पाइएको छ ।
सडक ऐनमा भनिएको छ–कसैले सार्वजनिक सडकमा कुनै मालवस्तु छोडेको, राखेको वा फालेको कारणबाट त्यस्तो सडकको आवागमनलाई कुनै किसिमले बाधा पु¥याएको भए त्यस्तो मालवस्तु हटाउनको निमित्त मुनासिव अवधि तोकी सरोकारवाला व्यक्तिको नाउँमा सडक विभागले आदेश जारी गर्न सक्नेछ ।
उक्त ऐनमा अगाडि भनिएको छ– ‘जारी भएको आदेशको अवधिभित्र नहटाएको वा धनी पत्ता नलागेको मालवस्तुलाई सडक विभागले सडकको छेउ लगाई राख्न वा आफ्नो कब्जामा राख्ने गरी अन्यत्र लैजान सक्नेछ ।’ ऐनमा भनिएको छ– ‘सार्वजनिक सडकमा छाडिएको, राखिएको वा फालिएको कुनै मालवस्तुले त्यस्तो सडकको सम्पूर्ण आवागमनलाई अवरोध पु¥याएमा त्यस्तो मालवस्तुलाई तुरुन्त सडकबाट हटाउने अधिकार सडक विभागलाई हुनेछ ।’ सडक डिभिजन कार्यालयका अनुसार सडकको दायाँबाया २५ मिटरमा कुनै पनि प्रकारको संरचना बनाउन तथा राख्न पाइँदैन । बाँकी थप ६ मिटरमा पनि स्थायी प्रकारको संरचना बनाउन पाइँदैन ।
पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड अहिले सवैभन्दा बढी सडक अतिक्रमणको चपेटामा परेको छ । बिर्तामोडमा स्थानीय व्यापारीदेखि घर निर्माणकर्ता र फुटपाथमा व्यवसाय सञ्चालन गर्नेले सबैभन्दा बढी सडक अतिक्रमण गरेका छन् । ठूल्ठूला व्यापारिक महल बनाउनेले सवारी पार्किङ एरिया नबनाई सडकलाई नै पार्किङ स्थल बनाएका छन् । यति हुँदा समेत स्थानीय प्रशासन बेखवर छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले सडक डिभिजन कार्यालय र नगरपालिकाले सहयोग नगरेका कारण सडक अतिक्रमण हटाउन नसकिएको बताएका छन् । उनले आफ्नो मात्र प्रयासले सडक अतिक्रमण हटाउन नसकिने बताए ।
यता बिर्तामोड नगरपालिकाले पनि सडक अतिक्रमण र फुटपाथ हटाउने विषयमा कुनै चासो दिएको छैन । जसका कारण व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको÷बनाइएका घर अफिसमा आउने सेवाग्राहीले सडकमा पार्किङ गर्ने गरेका छन् । कतिपय सपिङ मलले अण्डर ग्राउण्डमा पार्किङ गर्ने भन्दै सपिङ मल बनाए पनि सडकलाई नै पार्किङस्थल बनाएका छन् ।

कतिपयले सडकको एरियालाई अतिक्रमण गर्दै सडकमा टायल ओच्छ्याएर पार्किङस्थल बनाउँदा समेत सम्बन्धित निकाय थाहा पाएर पनि थाहा नपाएझैं गरिरहेको छ ।

Views: 89

प्रतिक्रिया (०)