Aamsanchar

फोहोरमा लाखौं खर्च, विकास कहिले ?

Author Image
बुधवार, जेठ ३, २०७४

बिर्तामोड।

बिर्तामोडलाई ब्यवस्थित गर्ने प्रतिबद्धता धेरैले जनाउँछन् तर व्यवहारमा भने यो शहर ब्यवस्थित हुन सकेको छैन् । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोड झन्–झन् अस्तव्यस्त हुँदै गएको पाइएको छ ।
उद्योग बाणिज्य संघ, जेसीज, रिभरसाइड जस्ता संघ–संस्थाले समेत बिर्तामोड व्यवस्थित गर्ने चुनावी र मौसमी नारा लगाइ रहन्छन् तर ठोस् रुपमा काम भने देखाएका छैनन् । नगरपालिका आफंैले पनि बिर्तामोड व्यवस्थित हुने गरी ठोस् काम गर्न सकेको छैन । अहिले नगरपालिकालाई बिर्तामोडबाट फोहोर उठाएर डम्पिङ साइडसम्म पु¥याउनै समस्या परेको छ, लाखौं खर्चिनु परेको छ ।

 

नागरिकले तिरेको कर फोहोर उठाएर फ्याक्नमै लाखौं खर्च हुन थालेपछि अब विकास चाहिँ कहिले होला भनेर प्रश्न पनि खडा हुन थालेको छ । जथाभावी फ्यालिएका फोहोर, अव्यवस्थित रुपमा रहेको पार्किङ, सडक किनारमा छरपष्ट सामग्री, जथाभावी रुपमा रहेका फुटपाथ ब्यवसायले गर्दा विर्तामोडको सौन्दर्य हराउँदै गएको स्थानीयको भनाइ छ । बिर्तामोडलाई व्यवस्थित गर्न पटक–पटक यहाँका राजनीतिक दल, सामाजिक संघ संस्था, स्थानीयवासी, नागरिक समाजका अगुवा, प्रहरी प्रशासनले वैठकै पिच्छे प्रतिवद्धता जनाए पनि समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
शहरोन्मुख भएर विकास हुँदै गइरहेको बिर्तामोड नगरपालिकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा, ‘ग्रीन सिटी–क्लिन सिटी’, ढल व्यवस्थापन, प्रदुषणरहीत, सार्वजनिक शौचालय निर्माण, फोहोरमैला व्यवस्थापन लगायतका दर्जनौं निर्णयमा सामुहिक प्रतिवद्धता जनाइए पनि समस्या भने ज्यूँकात्यूँ छन् । तीन वर्ष अघि झापा उद्योग वाणिज्य संघ बिर्तामोडको अगुवाईमा ४० भन्दाबढी संघ–संस्थासँग समन्वय गर्दै बिर्तामोडलाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गरिएको थियो । निर्णय भएको एक वर्षसम्म निर्णयको कार्यान्वयन भए पनि त्यस यता बिर्तामोडमा खुलेआम प्लाष्टिकको प्रयोग हुँदा समेत नियमनकारी निकाय बिर्तामोड नगरपालिका मौन छ । बिर्तामोडलाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा अभियानमा नगरपालिकाले पनि प्रतिवद्धता जनाउँदै बिर्तामोड प्लाष्टिक मुक्त क्षेत्र भयो या भएन भन्ने विषयमा अनुगमन गर्ने जिम्मा लिएको थियो ।
तर, नगरपालिकाले निर्णय गरे पनि काम भने नगर्दा समस्या दिनदिनै थपिएको छ । योसँगै बिर्तामोड नगरपालिकाले ढलको समस्या समाधान गर्ने, फोहोर दिनदिनै उठाउने, फुटपाथ व्यवस्थापन गर्ने, सार्वजनिक शौचालयको बन्दोबस्त मिलाउने लगायतका निर्णय गरेको थियो । प्रत्येक वर्ष नगरपालिकाले बिर्तामोडलाई व्यवस्थित गर्ने भन्दै बजेट छुट्याए पनि ठोस् काम गर्न नसक्दा बिर्तामोडको समस्या दिनदिनै थपिँदै गएको बताइएको छ ।
बिर्तामोडको फोहोर व्यवस्थापनका लागि विगत पाँच सात वर्षदेखि कुरा उठाइए पनि काम गर्न नसक्दा अझै बिर्तामोड दुर्गन्धित छ । घर तथा पसलबाट सडकमा फोहोर फाल्ने गरेका कारण बिर्तामोड दिनदिनै दुर्गन्धित शहरको रुपमा चिनिँदैछ । ढलबाट निस्किएको दुषित पानी अन्धुवा खोलामा मिसाइने गरेका कारण खोला समेत प्रदुषित बन्दै गएको छ ।
अन्धुवा खोला सरसफाईका लागि विभिन्न योजना अघि सारे पनि प्रभावकारी बन्न सकेको छैन । बिर्तामोडलाई मात्र नभई दमकलाई पनि प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ तर प्लाष्टिक मुक्त क्षेत्र नारामा मात्र सीमित बनेको छ । तामझामका साथ प्लाष्टिक मुक्त नगरको अभियान कार्यान्वयन गरिए पनि अनुगमनको अभावमा पुनः बजार प्लाष्टिकमय भइसकेको छ । बजारमा बढ्दो प्लाष्टिकको प्रयोगले वातावरणीय प्रदुषण बढाएको भन्दै दमक उद्योग वाणिज्य संघको अगुवाइमा ३ वर्ष अघि प्लाष्टिक मुक्त दमकको अवधारणा ल्याइएको थियो ।
करिव १ वर्ष नगरमा प्लाष्टिकको प्रयोगमा कमी आए पनि फेरि बजार प्लाष्टिकमय बनेको छ । विभिन्न चरणका अन्तरक्रिया र छलफलपछि औपचारिक रुपमा नैं २०६८ मंंसीर १ देखि दमकमा २० मोइक्रोन भन्दा कम गुणस्तर तथा तौलका प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको थियो । तर, निरन्तर अनुगमनको अभावमा प्लाष्टिक मुक्त अभियानका लागि गरिएको लगानी बालुवामा पानी बन्ने अवस्थामा पुगेको नगरबासीको गुनासो छ । प्लाष्टिक मुक्त घोषणा गरिएका, शनिश्चरे, गौरादह लगायतका बजारमा पनि पुनः पुरानै अवस्थामा प्लाष्टिकका झोला प्रयोग हुन थालेका छन् ।
यसैबीच विर्तामोड नगरपालिकालाई ब्यवस्थित गर्न चालू आर्थिक वर्ष २०७३÷७४मा ३६ लाख रुपैंया बजेट बिनियोजन गरेर काम गरिरहेको नगरपालिकाका प्रशासन प्रमुख मेघराज बाँस्तोलाले जानकारी दिएका छन् । उनले उक्त रकम सरसफाई, फुटपाथ व्यवस्थापन लगायतका क्षेत्रमा खर्च गरेको बताए ।
तर उनले भने जस्तो बिर्तामोडमा नगरपालिकाले काम नगरेको सरोकारबालाहरुले आरोप लगाएका छन् । दैनिक दुई वटा ट्याक्टरमा फोहोर संकलन गर्ने गरेको बताइए पनि सडक किनारमा फोहोर कुल्चिदै हिँड्नु परेको यात्रुहरुले गुनासो गरेका छन् । फोहोर उठाउन १३ जना कर्मचारी दैनिक रुपमा खटाउने गरेको बताइएको छ ।
नगरपालिकाले बिर्तामोडलाई ब्यवस्थित बनाउन दिनरात खटिरहेको बाँस्तोलाले बताए पनि नगरपालिकाको अवस्था भने जस्ताको तस्तै रहेको सरोकारबालाहरुले बताएका छन् । त्यस्तै बिर्तामोडलाई व्यवस्थित र सुन्दर बनाउने प्रस्ताव र निर्णयहरु हुन्छ तर कार्यान्वयन जहाँको तहीँ नै रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा १५ दिन अघि जेठ २ गतेबाट बिर्तामोडको पार्किङ, फोहोर व्यवस्थापन, फुटपाथ हटाउने प्रतिवद्धता जनाइए पनि काम भने हुन सकेको छैन ।

जेठ २ गतेबाट नै ट्राफिक प्रहरी कार्यालयमा नै पुगेर रिभर साईड युथ फाउण्डेशनले फेरि असार मसान्तसम्ममा बिर्तामोडमा रहेका माछा, कुखुरा, फलफूल पसलहरुलाई तथा सडक किनारमा रहेका फुटपाथ ब्यवस्थापन गर्ने प्रस्ताव गरेको छ ।

Views: 145

प्रतिक्रिया (०)