(नरेन्द्र ढकाल)

बिर्तामोड,

जेब्रा क्रसिङ बनाउने निकाय हो सडक विभाग । सडकमा यात्रुलाई हिँड्डुल गर्न सहज होस् भन्ने उद्देश्यले सडक विभागले मुख्य राजमार्ग र सहायक राजमार्गमा जेव्रा क्रसिङ बनाउनुपर्छ ।
सडक विभागले जेव्रा क्रसिङ नबनाउँदा झापामा रहेका विभिन्न संघ–संस्था र ट्राफिक प्रहरी आफंैले यात्रुको समस्यालाई मध्यनजर गर्दै जेव्रा क्रसिङ निर्माण गर्ने गरेका छन् । निर्माण गरिएको जेव्रा क्रसिङ १५ दिन पनि नटिकेपछि यात्रुले समस्या माथि झन् समस्या झेल्नु परेको छ । जेब्रा क्रसिङ भएको ठाउँमा सवारीले गति सीमित गर्नुपर्ने र यात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने नियम छ । तर, पूर्व–पश्चिम राजमार्गको मेचीदेखि मावा सम्मको ५५ किलोमिटरको दूरीमा निर्माण गरिएका जेव्रा क्रसिङ निर्माण गरिएको १५ दिन पनि बित्नै नपाउँदै रङ उडेर जस्ताको तस्तै हुने गरेको छ । जसका कारण दुर्घटनाको जोखिम पनि बढेर गएको छ ।
पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडक खण्डमा मात्रै बिर्तासिटी हस्पिटल अगाडिदेखि वीएण्डसी हस्पिटल अगाडिसम्म दर्जनौं ठाउँमा जेव्रा क्रसिङ बनाइएको छ । तर, न ती जेव्रा क्रसिङको उपयोग गरेर यात्रुले सडक पार गर्छन् न त बनाइएको जेब्रा क्रसिङ प्रष्ट छ । जेब्रा क्रस नबुझिने भएपछि दुर्घटनाको जोखिम समेत बढेर गएको छ ।
विभिन्न संघ–संस्थाहरुले सडकमा जेब्रा क्रसिङ बनाए पनि सडकको दुरावस्था, कमसल रंगको प्रयोग तथा सडकमा रहेको धुलो तथा घाम–पानीका कारण उक्त जेब्रा क्रसिङ १५ दिन पनि नटिक्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
सडक दुर्घटनालाई कम गर्नको लागि जेब्रा क्रसिङ बनाइएको हो । यस विषयमा जनतालाई सुसूचित गराउन भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले समय–समयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने गरेको बताइएको छ ।
निश्चित स्थानबाट मात्रै बाटो काट्ने व्यवस्था मिलाउँदा सवारी चालक र पैदल यात्रुलाई दुवै पक्षलाई आवतजावत गर्न सुरक्षित हुन्छ । तर, पैदलयात्रीहरुमा भने जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्छ भन्ने विषयमा अझै पनि सचेतना आइनसकेको पाइएको छ । अर्कोतर्फ सवारी चालकहरुमा पनि जेब्रा क्रसको नजिकमा सवारी साधनको गति कम गर्नुपर्छ भन्ने ज्ञानको अभाव रहेको छ । यसले गर्दा बाटो काट्ने क्रममा पैदलयात्रीहरु पनि हतारमा देखिन्छन् ।
कतिपय पैदलयात्रीहरुमा जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्छ भन्ने सोचाइ हुँदाहुँदै पनि वास्ता नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । उनले भने– यो नयाँ कुरा होइन, सबै जनतालाई थाहा भइसकेकै कुरा हो । तर पनि मानिसहरुले जेब्रा क्रसिङबारे खासै वास्ता गरेको पाइँदैन ।’ मानिसहरुले आफ्नो जीवन जोखिमलाई भन्दा पनि छिटो, छरितो तथा हतारको यात्रालाई प्राथमिकता दिएको उनले बताए । उनले अब जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारबाही गर्ने बताए । ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा पैदलयात्रीलाई दुई सय रुपैंयाँसम्म जरिवाना लिएर कारबाही गर्न निर्देशन आएको सहायक निरीक्षक खड्काले जानकारी दिए ।
जथाभावी बाटो काट्नेहरुलाई कारबाहीको दायरामा नल्याउँदासम्म जतिसुकै प्रचारप्रसार र जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिए पनि कार्यान्वयन गर्न अप्ठ्यारो हुने ट्राफिक प्रहरीको भनाइ छ ।
जिल्लामा सवारीसाधनको चाप बर्षेनि तीव्र रुपमा बढ्दै गएकोले ट्राफिक व्यवस्थापनमा पनि चुनौति थपिएको प्रहरी निरीक्षक गिरीले बताए । साना सवारी साधन व्यवस्थापनमा सम्बन्धित निकायको समुचित ध्यान नपुग्नु, पूर्वपश्चिम राजमार्ग केन्द्रित हुँदै अधिकांश बजार विस्तार हुनुले पनि ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको बताइएको छ । मेची अञ्चलमा मात्रै वार्षिक साना–ठूला गरी १० हजार सवारी साधन थपिने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच सडक विभागले सडकहरुमा जेब्रा क्रसिङ, होर्डिङ वोर्डहरु राख्नुपर्ने भए पनि उनीहरुले उक्त काम नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पटक–पटक जानकारी गराएपछि पछिल्लो समय दमकमा भने होर्डिङ बोर्डहरु राख्न थालेको ट्राफिक प्रहरी सहायक निरीक्षक खड्काले बताए ।
झापाको काँकरभिट्टा, धुलबारी, चारआली, बिर्तामोड, सुरुङ्गा, भद्रपुर, दकम लगायतका स्थानमा विभिन्न संघ– संस्थाहरुले जेब्रा क्रसिङ बनाई दिए पनि जेब्रा क्रसिङबाट पैदलयात्रीले बाटो काट्ने नगरेको र सवारी चालकले पनि जेब्रा क्रसिङमा सवारी विस्तारै चलाउनुपर्छ भन्ने ज्ञान नभएकाले ३ दिनदेखि बिर्तामोडको मुक्ति चोकमा ट्राफिक संकेत (हातको संकेत) मार्फत सवारी सञ्चालन गर्न थालिएको ट्राफिक प्रहरी सहायक निरीक्षक खड्काले बताए । उनका अनुसार बिहान ९–११ बजे र बेलुका ३–५ बजेसम्मको समयमा ट्राफिक संकेतबाट सवारी आवागमन गर्न शुरु गरिएको खड्काले जानकारी दिए ।

