Aamsanchar

चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर

Author Image
सोमवार, जेठ ८, २०७४

बिर्तामोड।

दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै झापामा राजनीतिक दलले पार्टी प्रवेश गराउने कार्यलाई तीब्रता दिएको छ ।  नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका दलले गाउँदेखि शहरसम्म चुनावी अभियानका क्रममा पार्टी प्रवेशको क्रमलाई तीब्रता दिएका हुन् । कतिपय दलले चुनावी सभा गर्दै पार्टी प्रवेश गराउने गरेका छन् भने कतिपयले घरदैलो अभियानमार्फत पार्टी प्रवेश गराइरहेका छन् ।
नेपाली कांग्रेस झापाले सबैभन्दा बढी पार्टी प्रवेश गराएको दावी गरेको छ । सभापति उद्धव थापाले ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तहका लागि ११ हजारभन्दा बढीलाई नेपाली कांग्रेसमा नयाँ सदस्यता वितरण गरेको बताए । उनले भने– सबैभन्दा बढी शिवसताक्षी नगरपालिकाबाट एउटै कार्यक्रममा ५ सय १७ जनालाई प्रवेश गराइयो । नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र र मधेशवादी दलबाट बढी नेपाली कांग्रेसमा प्रवेश गरेको थापाको दावी छ ।

नेपाली कांग्रेसले अझै पनि स्थानीय तहका उम्मेदवारको टुंगो नलगाइरहेको अवस्थामा पार्टी प्रवेश र घरदैलो कार्यक्रमलाई भने तीब्रता दिएको छ । जेठ ९ गतेसम्ममा मेयर, उपमेयरसहित गाउँपालिका अध्यक्ष लगायत सबै सदस्यको टुंगो लगाउने र १० गते केन्द्रमा नामावली पठाउने थापाले बताए । उनले गाउँघर अभियानलाई अझ तीब्रता दिने र मतदाता शिक्षालाई समेत प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् ।
यता नेकपा एमालेले पनि चुनावी अभियानलाई तीब्रता दिएको छ । घरदैलो कार्यक्रम सञ्चालन गर्दै एमालेले पछिल्लो समय ५ हजारभन्दा बढीलाई सदस्यता वितरण गरेको दावी गरेको छ । पार्टी सचिव मदन अधिकारीले बिर्तामोड, दमक, गौरादह र बुधवारेबाट सबैभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेको दावी गरेका छन् । नयाँ ५ हजार सदस्य पुगेसँगै आफ्नो पार्टीमा १८ हजार सदस्य बनेको उनले बताए । एक साताभित्र मेयरदेखि वडा सदस्यसम्मको टुंगो लगाउने बताउँदै सचिव अधिकारीले भने– अहिले हामी चुनावी अभियानमै सक्रिय छौं, दैनिक जसो पार्टी प्रवेश कार्यक्रमलाई अघि बढाइरहेका छौं ।
त्यस्तै माओवादी केन्द्रले पछिल्लो समय सात सयभन्दा बढीलाई आफ्नो पार्टीमा संगठित गरेको जनाएको छ । पार्टीका राष्ट्रिय महाधिवेशन समिति सदस्य ज्योतिसिंह दर्लामीले चुनावताका विभिन्न कार्यक्रममार्फत उनीहरुलाई पार्टीमा सदस्यता वितरण गरेको बताए । चुनावी प्रचारप्रसारका क्रममा पार्टीले दमक, गौरादह, मेचीनगर, बिर्तामोड, हल्दिवारीबाट करिब ७ सय जना नयाँ सदस्य थप गर्दै ११ हजार पु¥याएको दर्लामीले बताए । दुई दिनभित्र आफ्नो उम्मेदवारको टुंगो लगाउने बताउँदै उनले अहिले कसलाई कुन पदमा उठाउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।
यता राप्रपाले पनि चुनावी अभियानलाई तीब्रता दिएको छ । गाउँघर अभियानसहित उम्मेदवार घोषणा र मतदाता शिक्षालाई एकैसाथ सञ्चालन गर्दै राप्रपाले पार्टी प्रवेश कार्यक्रमलाई समेत अघि बढाएको छ । पार्टी सचिव केशव ओझाका अनुसार अहिले राप्रपामा ५ हजारभन्दा बढी नयाँ कार्यकर्ता प्रवेश गरेका छन् । राप्रपामा प्रवेश गर्ने सबैभन्दा बढी नेपाली कांग्रेस र नेकपा एमालेका रहेको ओझाले बताए ।

राज्यले प्रभावकारी रुपमा मतदाता शिक्षा सञ्चालन गर्न नसकेको बताउँदै ओझा भन्छन्– आफ्ना मतदातालाई हामी आफंै सुसूचित गराउँदैछौं । घोषणा पत्रसहित मतदातालाई शिक्षा दिन अहिले हामी मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवार र पार्टीपंक्तिका नेतृत्वगण घरदैलो अभियानमा जुटेका छौं । राप्रपाले ८ नगरपालिका र ७ वटा गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइसकेको ओझाको भनाइ छ । ओझाका अनुसार मेचीनगरको मेयरमा अशोक सुब्बा र उपमेयरमा सबिना बजगाँई, बिर्तामोडमा मेयरमा भक्ति सिटौला र उपमेयरमा लीला अनमोल, भद्रपुरमा मेयरमा नवराज पनेरु र उपमेयरमा राधा कार्की, दमकमा मेयरमा राम थापा र उपमेयरमा सीता बस्नेतलाई छनौट गरेको छ ।
यस्तै कनकाईको मेयरमा केदार गिरी र उपमेयरमा चित्रा श्रेष्ठ, अर्जुनधाराको मेयरमा छविलाल लम्साल र उपमेयरमा राधा गिरी, शिवसताक्षीको मेयरमा उमानाथ दाहाल र उपमेयरमा रोजी लुइँटेल, गौरादहको मेयरमा अमर विष्टको नाम चयन भएको छ भने उपमेयरको भने टुंगो लाग्न नसकेको ओझाले बताए । उपमेयरमा आकांक्षी बढी भएकाले गौरादहमा उपमेयरको टुंगो लाग्न सकेको छैन– ओझाले भने – दुई दिनभित्र उपमेयरको समेत टुंगो लाग्नेछ ।
यता बाह्रदशी गाउँपालिकाको अध्यक्षमा भीम कार्की, कमल गाउँपालिकाको अध्यक्षमा विष्णु पौडेल, गौरीगञ्जमा बाबुराजा श्रेष्ठ, झापा गाउँपालिकामा शहरमान कटुवाल, बुद्धशान्तिमा नन्दप्रसाद तिम्सिना, केचनामा अञ्जार आलम र देवीरमण भट्टराई मध्ये एक तथा हल्दिवारी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनलाई चयन गरिसकेको ओझाले बताए । राप्रपाले कुन वडामा कुन पदका लागि कसलाई उठाउने भन्ने विषयमा समेत टुंगो लगाइसकेको र महिला मैत्री नेतृत्व चयनका लागि महिलालाई पनि सशक्त रुपमा अघि बढाएको ओझाको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर