Aamsanchar

नतिजा अपेक्षाकृत नै आएको माओवादी केन्द्रको निष्कर्ष

Author Image
सोमवार, जेठ ८, २०७४

काठमाडौं :

नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सम्पन्न बैठकले पहिलो चरणको चुनावी नतिजाको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।  बैठकले विगतको तुलनामा पार्टी माथि उठेको निष्कर्ष पनि निकालेको छ। ०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा १२.८ प्रतिशत नतिजा माओवादीको पक्षमा थियो भने बैशाख ३१ को स्थानीय तह चुनावमा १८ प्रतिशत बढी मत आएको माओवादी बैठकको निष्कर्ष छ।

पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताबीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकको निष्कर्षमा  भनिएको छ। बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २ सय ८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५ सयभन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष पनि बैठकले निकालेको छ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घर-आँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताए। पहिलो चरणको निर्वाचनमा ७५ स्थानसम्म जित्न सकिने अनुमान गरिएको भए पनि ४६ स्थानमा खुम्चिनुपरेकोबारे समीक्षा गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर