Aamsanchar

जनप्रतिनिधिलाई जेठ अन्तिम सातादेखि प्रशिक्षण

Author Image
मङ्गलवार, जेठ ९, २०७४

काठमाडौँ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम गरेका जनशक्तिले १२ वटा समूहमा कक्षा लिनेगरी पाठ्यक्रम विकास गरिएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीन वटा प्रदेशमा प्रशिक्षण दिइने छ त्यसपछि निर्वाचन हुन बाँकी रहेका चार प्रदेशमा पनि निर्वाचन भएपछि सो अभिमुखीकरणलाई निरन्तरता दिइने छ ।

मन्त्रालयका सहसचिव केदारनाथ शर्माले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने भएकाले योजना निर्माण, स्थानीय तहमा सङ्घको समन्वय तथा जनशक्ति, स्रोत व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने तयारी भइरहेको बताउनुभयो ।

प्रदेश नं ३ का लागि काठमाडौँ, प्रदेश नं ४ का लागि पोखरा र प्रदेश नं ६ का लागि सुर्खेतमा सो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । बन्न लागेको स्थानीय शासन ऐनले परिकल्पना गरेका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएर सशक्त रुपमा स्थानीय क्षेत्रको विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा २८३ नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखका साथै त्यहाँ कार्यरत २८३ कार्यकारी अधिकृत गरी ८४९ जनालाई तालिम दिइने मन्त्रालयका योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिमल्सिनाले बताउनुभयो ।  दोस्रो चरणको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिका लागि पनि सो कार्यक्रम सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर