Aamsanchar

प्रचण्डको राजीनामा, के होला नयाँ प्रधानमन्त्री चयन ?

Author Image
बिहिवार, जेठ ११, २०७४

काठमाडौं,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री दाहालले बुधबार राजीनामा गरेसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि आह्वान गर्नुहुनेछ ।

सामान्यतया सहमतीय सरकार गठनका लागि ७ दिनको समयसीमा राखेर आह्वान गर्ने परम्परा अनुसार राष्ट्रपति भण्डारीले आह्वान गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिको आह्वानमा तोकिने समयावधि भित्र सहमती हुन नसके बहुमतीय प्रक्रिया सुरु हुनेछ ।

नेपालको संविधानको धारा २ सय ९८ को उपधारा २ मा ‘व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।

उपधारा ३ मा सहमति कायम हुन नसकेमा व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने उल्लेख छ । तर यसको समयका बारेमा कुनै उल्लेख छैन । त्यस्तै व्यवस्थापिका–संसद् नियमावलीमा सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको चुनाव सभामुखले तोकेको दिन र समयमा हुने उल्लेख छ ।

राष्ट्रपतिबाट प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया अघि बढाउनेसम्बन्धी पत्र प्राप्त भएपछि सो प्रक्रिया अघि बढ्ने संसद सचिवालय सूचना शाखा प्रमुख सुर्दशन कुइँकेलले जानकारी दिनुभयो ।

यसैबिच मुख्य सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य सुरु गरेका छन् । कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधी र भौतिक योजना मन्त्री रमेश लेखक तथा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णवहादुर महरा र नेता बर्षमान पुनलाई यसको जिम्मा दिइएको छ । चारजना नेताले मन्त्रालय बाँडफाँड लगायतबारे बिहीबार देखि छलफल थाल्ने तयारी गर्नुभएको छ ।-उज्यालोबाट

Views: 166

प्रतिक्रिया (०)