अर्जुनधारा।
आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
साविक खुदुनाबारी गाउँ विकास समिति (हाल अर्जुनधारा नगरपालिका १, २ र ३)को आयोजनामा आइतबार आयोजित संयुक्त उम्मेदवारी घोषणा सभामा पार्टी झापाका सदस्य लवकुश गिरीले मेयर पदमा छविलाल लम्साल र उपमेयर पदमा राधा गिरीको नाम घोषणा गरेका थिए ।
त्यसैगरी पार्टी झापाका सदस्य गिरीले वडा नम्बर १ को अध्यक्षमा विशाल खड्का, वडा नम्बर २ को अध्यक्षमा कुमार सापकोटा र वडा नम्बर ३ को अध्यक्षमा गणेश दाहालसहित सदस्यहरुको नामावली घोषणा गरेका थिए ।
पुष्पलाल बाँस्कोटाको अध्यक्षता र पार्टी झापाका अध्यक्ष अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत पार्टी नगर प्रचार–प्रसार विभाग प्रमुख गोविन्द कार्कीले गरेका थिए ।
कार्यक्रममा पार्टी झापाका सचिव केशवप्रसाद ओझा, मेयर पदका उम्मेदवार लम्साल र वडा नम्बर ३ का अध्यक्ष दाहाल लगायतले बोलेका थिए । पार्टी नगर समितिका उपाध्यक्ष इन्द्रबहादुर बुढाथोकीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन प्रेम समाल मगरले गरेका थिए ।