Aamsanchar

कोचिला गाभुर फ्रन्ट राष्ट्रिय जनता पार्टीमा समाहित

Author Image
मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड।

झापा, मोरङ र सुनसरीलाई कोचिला राज्य घोषणा गर्नुपर्ने माग राखेर एक दशकदेखि आन्दोलनमा रहेको कोचिला गाभुर फ्रन्ट राष्ट्रिय जनता पार्टीमा समाहित भएको छ ।
झापाको बिर्तामोडमा सोमबारआयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपासँग आफूहरुको माग मिलेकाले सोमबारबाटै राजपामा समाहित भएको कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिका संयोजक तीलचन राजवंशीले बताए ।
विर्तामोडमा पटक–पटकको वार्तापछि सहमतिमा पुगेको र अब सबै मिलेर मधेसका मागका विषयमा आवाज उठाउने राजपा नेपाल झापाका संयोजक सूर्यनारायण गणेशले बताए । २०६४ वैशाख ४ गते स्थापना भएको गाभुर फ्रन्टले आफ्नो सबै तहलाई राजपामा बिलय गराएको राजवंशीले जानकारी दिए ।
यसैबीच राजपा नेपाल झापाले बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचनमा जान तयार रहे पनि आफूहरुको माग सम्बोधन गर्ने विषयमा ठूला तीन दलले चासो नदिएको भन्दै आफूहरुलाई वेवास्ता गरे कडा संघर्षमा उत्रने राजपाका नेताहरुले चेतावनी दिएका छन् ।
झापामा आफ्नो जनमत थेरै भएको दावी गर्दै आफूहरु आन्दोलनलाई अगाडि बढाउन तयार रहेको र राजपाको एकताले पनि सबैमा हौसला मिलेको संयोजक गणेशले बताए । आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने नेताहरुको भनाइ छ । आन्दोलनको कार्यक्रम तालिका अनुसार राजपाले सोमबार साँझ मुक्ति चोकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मैनबत्ती बालेको थियो ।
राजपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यस अघि भएको कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष विश्वनाथसिंह राजवंशी, केन्द्रीय सदस्य मोहितलाल कामती, द्रौपदी गणेश, जिल्ला सदस्य कृष्णप्रसाद थपलिया, जिल्ला अध्यक्ष मण्डल सुन्दरलाल साह, अनुप राजवंशी, ओवीसीका बिर्तामोड अध्यक्ष महेन्द्र भुषण साह, कनकाईका शेषलाल राजवंशी, शरणामतीका दीनेश राजवंशी लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन देवेन्द्र किशोर ढुङ्गानाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर