Aamsanchar

रोङ ३ मा तीनवटै दलको जित्ने दाबी

Author Image
बिहिवार, जेठ १८, २०७४

इलाम।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा इलामको गाउँ–गाउँमा चुनाबी चहलपहल पनि बढ्न थालेको छ । इलामको साबिक कोल्बुङ्ग गाविसको १,२,५,६,७,८ र इरौंटार गाविसको ३ र ४ नम्बर वडा मिलाएर बनेको रोङ गाउँपालिकाको ३ नम्बर वडामा पनि चुनाबी गतिबिधि बढेको छ । यद्यपि निर्वाचनको मिति पछि सरे पनि दलका कार्यकर्तामा उत्साह भने घटेको छैन ।
प्रमुख दलहरु नेपाली कांग्रेस एमाले र माओबादी केन्द्रले त्यस वडामा आ–आफ्नो उम्मेदवारको अगाडि लगाएर गाउँ–गाउँमा मत माग्न हिंडिरहेका छन् । राप्रपाले पनि उम्मेदवारी दिने चर्चा चले पनि यो समाचार तयार पारुञ्जेलसम्म औपचारिक घोषणा भएको छैन ।
गाउँपालिकाकै प्रमुख ब्यापारिक तथा पर्यटकीय चहलपहलको केन्द्र कुटिडाँडा तथा हाँसपोखरी पाथीभरा पनि पर्ने भएकाले यस वडालाई दलहरुले निकै महत्व र प्रतिष्ठाको रुपमा हेरेको पाइन्छ । हाल रोङ गाउँपालिकाको केन्द्र रहेको कोल्बुङ्ग पनि यसै वडामा पर्ने भएकाले पनि दलहरुले प्रतिष्ठाको रुपमा यो वडालाई हेरेको बुझिन्छ ।
नेपाली कांग्रेसले मातृका बराललाई वडा अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ । ‘चुनाबी मिति सरेकाले समय थप भएकोले पार्टीलाई फाइदा पुगेको छ’–अध्यक्षका उम्मेदवार बराल भन्छन्– ‘लामो समयको अन्तरालपछि चुनाब हुन लागेकाले यसपटक नेपाली कांग्रेसले यस वडामा जित्ने निश्चित छ’ । ‘म सामाजिक क्रियाकलापमा पनि सक्रिय मानिस हूँ’ –बराल भन्छन् – मैले पाथीभरा मन्दिरको सचिब, खानेपानीको जिम्मेबारी सम्हालिरहँदाको पनि म सँग अनुभव छ, मेरो अनुभव र कार्य कुशलताको त्यहाँको मतदाताले उच्च मूल्याङ्कन गरेका छन् ।’
त्यस्तै, नेकपा माओबादी केन्द्रले पनि प्रचार–प्रसारलाई तीव्र बनाएको जनाइएको छ । माओबादी केन्द्रले भक्तबहादुर खवासलार्ई वडाको अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । माओबादीले उठाएको मुद्दालाई संबिधान मार्फत जनतासम्म संस्थागत गर्नको लागि यो देशमा नेकपा माओबादी केन्द्रको आवश्यकता रहेको अध्यक्षका उम्मेदवार खवास बताउँछन् । ‘वडादेखि गाउँपालिका हुँदै स्थानीय तह प्रदेश र संघीय राज्यसम्म पु¥याउन पर्ने हुन्छ’– खवासले भने– ‘यस क्षेत्रको प्राकृतिक स्रोत–साधनको संरक्षण गर्न, फोहोर ब्यवस्थापन, सुकुम्बासी र अब्यवस्थित बसोबासको समाधानको बिषय मेरो प्राथमिकतामा पर्नेछन् ।’
त्यसैगरी नेकपा एमालेले पनि चुनाबी प्रचार–प्रसारको कार्यक्रम गरिरहेको छ । एमालेले खड्ग आले मगरलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेको पहलमा हाँसपोखरीबाट बहुवन हँुदै मेचीनगर जाने पाँच करोडको सडक निर्माणाधीन अवस्थामा रहेको एमालेका उम्मेदवार मगर बताउँछन् । ‘चुनाबी हिसाबले मात्र एमाले अगाडि नभई सामाजिक र विकास निर्माणमा एमालेको सहभागिताको हिसावले पनि एक नम्बरको पार्टी भएको छ’ –एमाले उम्मेदवार मगर भन्छन्– ‘एमालेले ल्याएको आफ्नो गाउँ आफंै बनाउ, सामाजिक सुरक्षाभत्ता जस्ता जनमुखी कार्यक्रमले पनि एमाले लोकप्रिय हुँदै आएकाले यस वडामा एमालेको जित्ने आधार बलियो छ ।’
सबै मुख्य दलका नेताले आ–आफ्नो पार्टीलाई पहिलो पार्टी भने पनि त्यसको नतिजा भने निर्वाचन पछि मात्र हेर्न सकिन्छ । निकै लामो समयपछि हुन लागेको स्थानीय चुनाब त्यसमा पनि अधिकार सम्पन्न स्थानीय तह भएकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । रोङ गाउँपालिकामा यसअघिका शान्तिपुर इरांैटार, जिर्मले र कोल्बुङ्ग गाउँ बिकास समिति समेटिएको छ । रोङ गाउँपालिकामा छ वटा वडाहरु रहेका छन् ।

गाउँपालिकाभरि जम्मा १२ हजार आठ सय ८८ जना मतदाता रहेको र वडा नम्बर ३ मा मात्र २ हजार छ सय २१ जनाले मताधिकार प्रयोग गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत डीकप्रसाद दाहालले जानकारी दिएका छन् । वडा नम्बर ३ मा साविक कोल्बुङ्ग गाविस भवन र चन्द्रकला आधारभूत विद्यालय प्युरे गरी दुईवटा केन्द्रमा मतदान हुने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर