Aamsanchar

न्याय नपाएको भन्दै आयोगमा ध्यानाकर्षण

Author Image
बिहिवार, जेठ १८, २०७४

काठमाडौँ ।

नेकपा (एमाले)का नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगको गम्भीर ध्यानाकर्षण छ ।

एमाले नेता तथा दोलखाका सांसदत्रय पशुपति चौलागार्इं, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले आज हरिहर भवन आयोगमा पुगी कार्यवाहक अध्यक्ष प्रकाश बस्तीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तह निर्वाचनका क्रममा गत वैशाख २६ गते दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं १ निवासी कुलबहादुर तामाङलाई जुँगुको रेशमडाँडामा माओवादी नेत्री देवी खड्का सहितका माओवादी नेता कार्यकर्ताले हत्या गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

एमाले नेताहरुले तामाङको क्रुरतापूर्वक हत्यापछि फरार रहेका माओवादी नेताहरुले पीडितका परिवारलाई मार्ने धम्की दिएको, मृतकका छोराछोरी विद्यालयसमेत जान नसकेको र गाउँमा बस्न असुरक्षित भएपछि मृतकका परिवार सदरमुकाम आएको जानकारी दिई एमाले नेताहरुले अभियुक्तलाई जोगाउने र पीडितलाई न्याय नदिने गम्भीर षडयन्त्र देखिएको भन्दै छानबिन गरी न्याय दिलाउन आग्रह गर्नुभयोे ।

आजै मृतक तामाङका श्रीमती र छोराछोरीको तर्फबाट आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा आफूहरुमाथि पूर्वराज्यमन्त्री देवी खड्का र विशाल खड्कासहित हत्यामा संलग्न माओवादी नेतृत्वबाट बारम्बार ज्यान मार्ने धम्की आइरहेको र हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गराउँदै मानवाधिकारको रक्षा गरिदिनसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर