Aamsanchar

उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई

Author Image
शुक्रवार, जेठ १९, २०७४

धनगढी।

दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएको छ ।  चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षामा छन् । फलस्वरुप उम्मेदवारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् ।

लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकोले यो चुनावमार्फत् आफ्ना प्रतिनिधि चुन्न जनता आतुर देखिएको स्थानीय जागुराम चौधरी बताउनुहुन्छ । ‘एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ, चौधरीले भन्नुभयो’—भेलामा उम्मेदवारले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिएर जान्छन् ।’

उम्मेदवारले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरेपनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुनसकिरहेका छैनन् ।

अरु बेला जनताका समस्या समाधानका लागि खासै चासो नदेखाउने नेता कार्यकर्ता अहिले हारगुहार गरेर मत माग्न आउने गरेको अनुभव धनगढीका मतदाता श्याम चौधरी सुनाउनुहुन्छ ।

‘जो चुनिएर आए पनि उस्तै हो, रुचाएको उम्मेदवारलाई त भोट हाल्नै पर्ला, उहाँले भन्नुभयो ’। राज्यको पुनः संरचनासँगै पहिलो पटक हुनलागेको स्थानीय तहको चुनावमा चुनिएर आउने जनप्रतिनिधिलाई अधिकार बढी दिइएकोले पनि यो चुनावप्रति सर्वसाधारण र नेता कार्यकर्ताको चासो बढेको देखिएको छ ।

फलस्वरुप सबै दलमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य पदको टिकटका लागि खिचातानी बढेका छन् । टिकट वितरणमा किचलो देखिए पनि सबैले आ– आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

साविकका स्थानीय निकाय र सांसदको निर्वाचनका समयमा हुने चुनावी प्रचारप्रसारको शैली भन्दा यो चुनावको प्रचारशैली फरक ढङ्गको देखिएको छ ।
प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक टिव्टरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ ।
‘यसअघिको चुनावमा सामाजिक सञ्जलको प्रयोग निकै न्यूनरुपमा भएको थियो, स्थानीय टिआर विनाडीले भन्नुभयो—“यसपालिको चुनावी प्रचारप्रसारमा भने समाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ ।”

चुनावी प्रचारका क्रममा विगत वर्षको जस्तो भित्ते लेखन, पम्ल्पेटिङजस्ता प्रचारका शैली भने रोकिएका छन् । चुनावी चटारोकाबीच कैलाली जिल्लाका सबै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (मओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, राप्रपाकाबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन मतदाताले गरिरहेका छन् ।

खासगरी सुदूरपश्चिम (प्रदेश नं.७) को प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेका धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी चासोका रुपमा हेर्ने गरिएको छ ।  दलका उम्मेदवारबाहेक उपमहानगरपालिकाको प्रमुख पदमा उद्योगी एवम् कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले पनि आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरी प्रचारमा लाग्नुभएको छ ।

हमालले काँग्रेस, एमाले, राप्रपा, नेकपा (मओवादी केन्द्र)का कतिपय मत आफ्नो पक्षमा पार्ने हुँदा कसको पक्षमा चुनावी नतिजा आउछ भन्न सकिने अवस्था नरहेको एकथरीको विश्लेषण छ । ‘एक भोट विकासलाई’ ‘छ भोट दललाई’ भन्ने नारासहित उहाँ प्रचारप्रसारमा जुटिरहनुभएको छ ।

तर दलका नेता कार्यकर्ताले भने आफूहरुको मत कतै प्रभावित नहुने दाबी गरेका छन् । नेकपा एमालेले उपमहानगर प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणि देवकोटा, नेकपा (माओवादी केन्द्र)ले प्रमुखमा रामसमझ राना थारु र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्री, राप्रपाले प्रमुखमा विष्णुबहादुर साहु र उपप्रमुखमा जनक कुँवरलाई उम्मेदवार बनाएको छ ।

संसद्को ठूलो दल काँग्रेसले भने अहिलेसम्म प्रमुख उपप्रमुखको टुङ्गो लगाउन नसकेको भए पनि वडास्तरका पदमा टिकट पाएकाले चुनावी अभियान गरिरहेका छन् । काँग्रेसले प्रमुखमा कृष्णबहादुर महरा वा नृप ओडमध्ये एक जनालाई र उपप्रमुखमा जीवन राना थारु, सुनिता राना वा सुशीला मिश्र भट्टमध्ये एक जनालाई उम्मेदवार बनाउन लागेको चर्चा बजारमा छ ।

प्रचारमा रहेका उम्मेदवारले मत माग्दा धनगढीको विकास र समृद्धि गर्ने भन्दै प्रस्तुत गर्ने गरेका योजना र चुनावी प्रतिबद्धता प्रायः समान छन् । तर विगतका चुनावका बेला गरिने प्रतिबद्धता कार्यान्वयन नहुने गरेको गुनासो रहेको अवस्थामा मतदाताले अहिले पनि उम्मेदवारले गरिरहेका प्रतिवद्धताप्रति खासै विश्वास गर्न भने सकेका छैनन् ।

धनगढी उपमहानगरपालिकाको यसअघि भएका निर्वाचनको मत आँकलन हेर्दा नेपाली काँग्रेस नै बलियो रहेको भए पनि अहिलेको परिस्थिति केही फरक रहेको कतिपयको भनाइ छ ।  १९ वडा रहेको यस उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर