Aamsanchar

नेपाल पुलिस क्लबल फाइनलमा

Author Image
सोमवार, जेठ २२, २०७४

काठमाडौँ ।

नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा नेपाल पुलिस क्लबले एफिएफलाई ३४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएका पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५२ रनको योगफल बनायो । त्यसमा कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रनको योगदान दिए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले ३७ रन, सुरुवाती जोडी सुनिल धमला र अमित श्रेष्ठले समान २६÷२६ तथा मञ्जित श्रेष्ठले २२ रन जोडे । सुरुवाती जोडी सुनिल र अमितले ६७ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ एपिएफका अनील शाहले तीन विकेट लिए भने कप्तान ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले समान दुई दुई विकेट लिए । जवाफी ब्याटिङमा उत्रेका एपिएफले २८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर १३८ रन बनाउँदा खेल वर्षाले रोकियो । एपिएफका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४५, सन्दीप सुनारले ३६, पृथु बास्कोटाले १९ तथा सुवास खकुरेलले १७ रन जोडे । त्यसपछि पनि निरन्तर वर्षा भएपछि डकवर्थ लेविस नियमका आधारमा खेल २८ ओभरमा झारेर एपिएफलाई १७३ रनको नयाँ लक्ष्य दिएको थियो ।

तर एपिएफले त्यति ओभरमा १३८ रनमा समेटियो । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर