Aamsanchar

उचित व्यवस्थापन तथा सरोकारवालाको ध्यान नपुग्दा प्रतिभावान खेलाडी विदेशिन वाध्य

Author Image
बिहिवार, जेठ २५, २०७४

शान्तिराम बस्नेत

शिवसताक्षी ।

कुनै समय थियो, शिवसताक्षी दूधे क्षेत्रका युवाहरुको हातमा ब्याट र बल नबोकेको दिनै हुँदैन थियो । उनीहरु आफू अब्बल खेलाडी बन्ने उद्देश्य लिएर कहिले बाँझो खेतमा, कहिले खोलाले छोडेको चौरमा त कहिले जंगलमा चहार्थे ।
उनीहरुमा क्रिकेटप्रति यति लगाव थियो कि बल किन्ने पैसा नहुँदा बाँसको जरालाई बल बनाउने, जंगलमा गएर काठ ल्याएर ब्याट बनाउने, केराको दाम्चालाई प्याड बनाइ क्रिकेटप्रति आस्था राख्थे । तर, हाल उक्त स्थानमा उचित क्रिकेट खेल मैदानको व्यवस्था नहुँदा राष्ट्रकै निम्ति खेल्न सक्ने योग्यता भएका युवाहरु पलायन हुन बाध्य भए, त्यो पनि अन्य खेलमा होइन, वैदैशिक रोजगारतर्फ ।
कुनै बेलाका राष्ट्रिय खेलाडीहरु लाक्पा लामा, मनोज कटुवाल, सुनिल विष्ट लगायतसँग विपक्षी बनि खेल खेलिसकेका दूधेका बिजय साँवा हाल ठेकेदारीमा छन् त सुमन सुब्बा, लालम सुब्बा, मनोज सुब्बा, रबीन श्रेष्ठ, रबीन गुरुङ, कृष्ण भट्टराई लगायत वैदेशिक रोजगारमा त केही वैदेशिक रोजगारको चक्करमा छन् भने बिरेन थापा, सलिम सुब्बा, सन्दिप मरासिनी, रोहित श्रेष्ठ लगायत घरायसी कामकाजमा व्यस्त छन् ।
शिवसताक्षी क्षेत्रमा मात्रै अन्य खेलका लागि विशेषत फुटबलका निम्ति ५–६ वटा ग्राउण्डहरु छन्, त्यसमा निरन्तर फुटबलका गतिविधिहरु सञ्चालन हुँदा क्रिकेटमा खेलाडीहरु समेत अन्य खेलमा फर्किन वाध्य छन् । शिवसताक्षीका डिल्ली श्रेष्ठ भन्छन्– ‘राज्यले शिवसताक्षी क्षेत्रमा फुटबलका निम्ति निकै खर्च गरिरहेको छ । तर, क्रिकेटलाई किन वेवास्ता गरेको हो, अहिलेसम्म थाह छैन ।’
त्यस्तै अर्का पुराना क्रिकेट खेलाडी चन्द्र थापा भन्छन्– ‘दूधेमा क्रिकेटको श्रीगणेश हामीबाटै भयो । उत्कृष्ट थिए त्यसबेलाका केटाहरु । तर, कसैले उनीहरुलाई सपोर्ट नगर्दाको परिणाम हो यो’ –थापा भन्छन् । त्यो बेला मैले केटाहरुका निम्ति खेल सामग्रीको व्यवस्थापन गरिदिए । तर, उचित खेलमैदान तथा सरोकारवालाहरुको ध्यान पुग्न सकेन । खेलमैदानको अभाव मात्र होइन, उक्त क्षेत्रबाट राष्ट्रका लागि प्रतिनिधित्व गर्नसक्ने क्षमता भएका खेलाडीहरुका लागि न त जिल्ला खेलकुद विकास समितिले नै हेरेको छ, न त उक्त क्षेत्रका सम्बन्धित निकायहरुले त्यसपट्टी नजर लगाएका छन् ।
खेल्न र सिक्न चाहने खेलाडीहरु थुप्रै भएपनि विना प्रशिक्षकको भरमा मात्र आफ्नो प्रतिभा तिर्खान बाध्य छन् आज पनि उनीहरु । दूधेदेखि करिब डेढ कि.मि. पूर्व शिवसताक्षी– ९ स्थित मिलनचौक उत्तरमा रतुवामाई वृक्षरोपण आयोजनाको स्वामित्वमा रहेको खुला चौर मात्र उनीहरुका लागि क्रिकेट खेल्ने क्षेत्र बनेको छ । जंगल क्षेत्रमै रहेको उक्त चौर चरणका लागि समेत उपयोग भइरहेकोले खेल दौरानका क्रममा फिल्डभित्र गाई–भैंसी पसिदिनाले अझ सास्ती भोग्नु परेको छ । विगतका दिनमा खुल्ला जमिनहरु पनि त्यतिकै थिए । चौर जहीँ थियो, तर अहिले भिटा प्लानिङ र बढ्दो शहरीकरणसँगै उक्त क्षेत्रहरु मासिँदै गएपछि चौरको अभाव समेत हुन थालेको छ ।
हाल आएर दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविले छात्राछात्र क्रिकेट टिम बनाएर अभ्यास गराउने कार्य गराइरहेको छ । तर, विद्यालयमा भने जस्तो खेल मैदान नहुँदा अभ्यासका निम्ति त्यही चौरमा जानुपर्ने बाध्यता छ । छात्रा त्यसमा पनि साना उमेरका खेलाडी हुनाले मुख्य राजमार्ग छेऊ भएर हिंड्दा सवारीको गतिका कारण त्यतिकै समस्या हुने गरेको छ । राष्ट्रिय रमणीय मावि दूधेकी एलिशिवा राई भन्छिन्– ‘राजमार्गको छेउ भएर जानुपर्छ, गाडीको गुडाइ र हर्नको आवाजले सातै लिन्छ र उक्त खेलमैदान पुग्न कम्तिमा २० मिनेट लाग्ने भएकाले जाँदा–आउँदा समय सकिन्छ । अभ्यास गर्नु त कता हो कता हाम्रो समस्या कसैले बुझिदिएन ।ं
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा लिएर अघि बढेको खेलकुद विकास समितिले न त उक्त क्षेत्रमा रहेको प्रतिभालाई खोज्ने कोशिस नै गरेको छ न त कुनै सहयोग नै । आफ्नो जिम्मामा रहेको झापा जिल्ला क्रिकेट संघले त्यस क्षेत्रको विषयमा चासो समेत देखाएको छैन । दुबै संस्थाहरुले नाम चलेको क्षेत्रमा मात्र काम गर्दा शिवसताक्षी क्षेत्रका प्रतिभावान खेलाडीहरु अन्यायमा परेका छन् ।
झापा जिल्ला विकास समितिले गरेको भर्खरै सम्पन्न गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो खेलमा राष्ट्रिय रमणीय आदर्श मावि दूधेले छात्रा क्रिकेटमा पराजय भोगेपछिको अवस्थालाई प्रत्यक्ष रुपमा नियालेका समितिका अध्यक्ष शंकर थापाले उक्त क्षेत्रको क्रिकेट खेलका निम्ति सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताउँछिन् विद्यालयकी क्याप्टेन सुष्मा राई । उनी भन्छिन्– ‘काँकरभिट्टा माविको खेल मैदान पश्चिम क्षेत्रमा आएर उहाँले हाम्रा निम्ति केही गर्छु भन्नुभएको थियो, हेरौं कतिको वाचाको पक्का हुनुहुँदोरहेछ ।’
हालका दिनमा आएर विद्यालयले क्रिकेटमा चासो दिन थालेपछि राम्रो प्रतिभा देखाउन सक्नेले अबका दिनमा यो खेल खेलेरै बाँच्न सक्छन् भन्ने उदाहरणहरु देखिन थालेको र विद्यालयले क्रिकेटलाई प्राथमिकतामा राखेको विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजाल बताउँछन् ।
पछिल्लो दिनमा आएर राष्ट्रले क्रिकेट खेलका लागि पूर्वभन्दा पश्चिमतर्फ ध्यान दिइरहँदा न त पूर्वमा क्रिकेट खेलको क्रेज नै बढ्यो, न त स्तरीय खेलाडीहरु नै उत्पादन गर्न सक्यो । कुनैबेला राष्ट्रका निम्ति खेल्ने प्रायः पूर्व क्षेत्र विशेषतः झापाली नै थिए, तर अहिले त्यो कुरा एकादेशको कथामा मात्र सीमित भइसकेको छ । क्रिकेट संघका पदाधिकारीहरु, खेलकुद विकास समितिका पदाधिकारीहरुले क्रिकेट खेलाडीहरु उत्पादन गर्न उत्कृष्ट खेलमैदान, ट्रेनिङ सेन्टर लगायतको व्यवस्था गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर