Aamsanchar

नयाँ सरकारसामु चुनौती र अवसर

Author Image
बिहिवार, जेठ २५, २०७४

काठमाडौँ ।

नेपालका बुद्घिजीवी तथा राजनीतिक विश्लेषकहरूले नयाँ सरकारसामु सङ्घ, प्रदेश र बाँकी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने चुनौती र अवसर भएको बताउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि देशको समसामयिक राजनीतिमाथिको बहस गर्न रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँहरूले प्रमुख प्रतिपक्ष एमालेसहित मधेसवादी दलहरू र अन्य असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर बाँकी निर्वाचन सम्पन्न गर्ने चुनौती देउवाको काँधमा आएको बताउनुभयो ।

उहाँहरूले मधेस समस्या अधुरो राखेर वा असन्तुष्ट पक्षको माग सम्बोधन नगरी सुरक्षाकर्मीको प्रयोग गरी सम्पन्न गरिने निर्वाचनले निकास ननिस्कने बताउनुभयो ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले प्रधानमन्त्री देउवा राजनीतिक सन्तुलन गर्न सक्ने क्षमता भएको व्यक्ति भएको बताउँदै दोस्रो चरणको स्थानीय तहको चुनावसहित सङ्घ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विचार प्रकट गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसभित्रको आन्तरिक सन्तुलन, प्रमुख प्रतिपक्ष एमालेसँगको सन्तुलन तथा असन्तुष्ट पक्षसँगको सन्तुलन मिलाउने महत्वपूर्ण जिम्मेवारी उहाँको काँधमा रहेको बताउनुभयो ।

पूर्व राजदूत विजयकान्त कर्णले बल प्रयोग गरी सम्पन्न गरिने निर्वाचनबाट देशको समस्या समाधान नहुँने बताउँदै जर्मनीमा बल प्रयोग गरी सम्पन्न गरेको निर्वाचनबाट हिटलरको उदय भएको उदाहरण प्रस्तुत गर्नुभयो ।

बुद्धिजीवि डा सुन्दरमणि दीक्षितले प्रजातन्त्रमा दलहरू आफ्नो सिद्धान्तप्रति अटल हुनुपर्ने बताउँदै सिद्धान्तको अभावमा देशको राजनीति अन्यौलतातिर धकेलिन सक्ने खतरा औँल्याउनुभयो ।

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले राजनीतिक दलहरूले जनताको भावनालाई कुठाराघात गरेकाले देशमा अन्यौलको स्थिति सिर्जना भएको बताउँदै देशको समस्या समाधान गर्न सत्ता व्यवस्थापन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर