Aamsanchar

नेम्वाङले प्रचण्डलाई सम्झाए

Author Image
शुक्रवार, जेठ २६, २०७४

काठमाडौं :

नेकपा एमालेले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले प्रस्ताव गरेर प्रधामन्त्री चयन गरेको स्मरण गराएको छ। संसदको शुक्रबारको बैठकमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पहिलो संविधानसभा निर्वाचनपछि गठित सरकारमा एमालेकै प्रस्तावमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री चयन भएको स्मरण गराइदिए।

मंगलबारको संसद बैठकमा प्रचण्डले आफू प्रस्तावक बसेर पटक पटक एमालेका नेतालाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्न मन लागेको बताएका थिए। शुक्रबार त्यसको जवाफ दिँदै नेम्वाङले संसदमा भने ‘तत्कालिन प्रधानमन्त्री ज्यूले गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बन्दा एमालेले प्रस्ताव गरेको थियो भन्ने बिर्सनुभएछ। यो बेला त्यस्ता कुरा सम्झिनु पनि त्यति उपयुक्त हुँदैन।

तर पनि म स्मरण गराउँछु’ उनले भने। त्यतिबेला अन्तरिम संविधानमा सहमतीय सरकारमात्रै गठनको व्यवस्था भए पनि संविधान संशोधन गरेर बहुमतीय प्रणाली अबलम्बन गरेको पनि उनले स्मरण गरे। ‘सहमतीय सरकार प्रचण्ड नेतृत्वमा हुन हुँदैन भनेर धेरै प्रश्न पनि उठ्यो विवाद पनि भयो।

धेरै विवाद भएपछि बहुमतको प्रणालीमा प्रधानमन्त्री निर्वाचन गर्ने भन्दै संविधान संशोधन गर्‍यौं’ उनले भने ‘त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्थ्यो, हाम्रो पार्टीका तत्कालिन कार्यबाहक महासचिव झलनाथ खनालले प्रचण्डलाई प्रस्ताव गर्नुभयो। त्यो दिन देखि सहमतीय राजनीति टुंगिएको थियो।’ नेम्वाङले अब फेरि सहमतीय प्रणाली सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘अहिले नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिन हुँदैन भन्ने अचम्मको सिद्धान्त सुरु भएको छ।

अब प्रधानमन्त्रीले दलहरुलाई एकै ठाउँमा ल्याउन कस्तो भूमिका निर्वाह गर्नुहुने हो?’ उनले प्रश्न गरे। आफ्नो थैली बलियो बनाऔं अरुलाई चोर दोष नलगाउनू र घर झगडा नगर्नु छिमेकीले सुझाव दिने अवसर पाउँछ भन्ने नेपाली कहावतहरु सम्झिन उनले आग्रह गरे। निरंकुशता विरुद्धको आन्दोलनमा संगै हिँडेका दलहरु फेरि एक पटक एकै ठाउँमा आउनुपर्ने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर