Aamsanchar

चैते धान उत्पादनमा बृद्धि

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड ।

धान उत्पादनका लागि झापा अग्रस्थानमा पर्दछ । त्यसमाथि सरकारले समुदायमा आधारित धान सुपरजोन कृषि आधुनिकीकरण परियोजना यसै बर्षबाट झापामा सञ्चालनमा ल्याएको छ ।
जिल्लाको पूर्वी दक्षिणका साविक ६ गाविसमा धान सुपरजोन परियोजना सञ्चालनमा रहेको छ । पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा सञ्चालित परियोजनाबाट धानको ३.१५ उत्पादकत्व वृद्धि गरी ५.५ मेट्रिकटन प्रतिहेक्टर बनाउने सरकारको लक्ष्य छ । सरकारले परियोजना सञ्चालनका लागि पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
परियोजना सञ्चालनसँगै कृषकलाई ८० प्रतिशतसम्म अनुदान र उन्नत जातको धानको वीऊ प्रयोग गर्दै प्रविधिमा आधारित धान खेती सम्वन्धी तालिम प्रदान गरेसँगै झापामा धानको उत्पादन बढेको छ । यस क्षेत्रका कृषकले अहिले चैते सिजनमा हुने हर्दीनाथ, डल्लेपुसा, चाइनापुसा लगायतका स्थानीय जातका धान लगाएका छन् र धमाधम धान भित्र्याउँदैछन् । यहाँका कृषकले नेपाल कृषि अनुसन्धान केन्द्र तरहराबाट सिफारिस गरिएका चैते–२, चैते–४ र केन्द्रमा परीक्षण भएको तेहरान र अन्य जातका धान लगाएकोले उत्पादन बढेको धान सुपरजोन कार्यान्वयन इकाई बनियानीका प्रमुख समेत रहेका मेघनाथ तिमल्सिनाले बताए ।
झापामा १० अर्ब दुई करोड रुपैयाँको धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष झापामा ८६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा ४ लाख ११ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । झापाको खेतीयोग्य जमिनमध्ये ३८ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा सिञ्चाइको सुविधा छ ।
जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीका अनुसार झापामा यस वर्ष २० हजार तीन सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको र उत्पादकत्व ५.३ पुगेको छ ।
गत वर्ष झापामा १९ हजार सातसय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । यस वर्ष ६ सय हेक्टर भन्दाबढी क्षेत्रफलमा चैते धान लगाइएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख डाँगीले बताए । कनकाई सिञ्चाई प्रणाली अन्तर्गत शिवशताक्षी, शिवगञ्ज, महाभारा, बैगुनधुरा, धरमपुर र तोपगाछीका अधिकांश कृषकले चैते धान खेती गर्ने गरेका छन् । त्यस्तै अर्जुनधारा,वुधवारे, मेचीनगर, केचना पथरीया कुमरखोद, वनियानी , सुरुङ्गा, टाघनडुब्बा लगायतका स्थानीय कृषकले चैते धान खेती गर्ने गरेका छन् ।
झापामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरिनु र लाइनमा धान रोप्नुले पनि उत्पादकत्व बढेको बताउँछन्– जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख डाँगी ।
लाइनमा धान रोप्ने कषकलाई जिल्ला कृषि विकास कार्यालय झापाले प्रतिहेक्टर पाँच हजार रुपैयाँका दरले प्रोत्साहन स्वरुप रकम समेत प्रदान गरेको डाँगीले बताए । गोडमेल गर्न सजिलो र लाइनमा धान रोप्दा उत्पादन बढ्ने भएकाले हामीले कृषकलाई लाइनमा धान रोप्न आग्रह गर्ने गरेका छौं– डाँगीले भने । लाइनमा धान रोप्ने झापाका कोहोवरा, जलथल र धरमपुरका कृषकले प्रोत्साहन रकम पाएका छन् । सरकारले उत्पादित चैते धानको मूल्य प्रतिकेजी २१.२० पैसा तोकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर