Aamsanchar

एसईई नतिजा शुक्रबार

Author Image
बिहिवार, असार १, २०७४

काठमाडौं :

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। ‘तयारी अन्तिम चरणमा पुगेको छ। प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा सार्वजनिक गर्छौ,’ रेग्मीले भन्नुभयो। रेग्मीका अनुसार अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्ताङ्कलाई कम्प्युटरमा इन्ट्री गरेर त्रुटि सच्याउने काम भइरहेको छ।

विगतका वर्षहरुमा एसएलसी भनिएको यस परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन शंसोधनसंगै एसईई नामाकरण गरिएको हो। परीक्षामा नियमित र आंशिक गरेर पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन्।

परीक्षा गत चैत तीन गतेदेखि शुरु भएको थियो। गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनसंगै विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा एकदेखि आठलाई आधारभूत र नौदेखि बाह्रलाई माध्यमिक तह मानिएको थियो।

विगतमा माध्यमिक तहको अन्तिममा लिइने भएकोले कक्षा दशको अन्तिममा लिइने परीक्षालाई एसएलसी भनिएको थियो। तर, यस पटकबाट भने कक्षा बाह्रको अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो।

कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएसंगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ।

ऐनको प्रावधान अनुसार कक्षा एघार बाह्रको पढाइ सञ्चालनको सम्बन्धन दिने, पाठ्यक्रम बनाउने, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने जिम्मेवारी पाएको तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदलाई खारेज गरेर परीक्षा बोर्ड गठन गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर