Aamsanchar

भद्रपुरमा कांग्रेसको ६७ बुँदे र एमालेको ३१ बुँदे प्रतिबद्धता

Author Image
शुक्रवार, असार २, २०७४

भद्रपुर,

आसन्न स्थानीय तह निर्वाचनमा लक्षित गर्दै नेपाली कांग्रेस भद्रपुर निर्वाचन समितिले ६७ बुँदे प्रतिबद्धता पत्र विहीवार सार्वजनिक गरेको छ ।
कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेलले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ‘पूर्वको मुख्य व्यापारिक द्वार शान्त, सुन्दर, सम्बृद्ध भद्रपुर नगर’ लाई केन्द्र बिन्दु बनाएर शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, हात्ती नियन्त्रण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या हल, सँस्कृतिक सम्पदा संरक्षण, पर्यटन विकास लगायत ६७ बुँदामा समेटिएको प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

काम गरेर भद्रपुरलाई सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले कृषि, पर्यटन र उद्योगको परिचालनबाट बेरोजगारी समस्या हल गर्दै गरिवी निवारण गर्ने वचनबद्धता समेत प्रकट गर ।
यस्तै उपमेयरकी उम्मेदवार तारा भूर्तेलले नारी अधिकार संरक्षण र कानूनी पहुँचका लागि इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । नगर निर्वाचन परिचालन समितिका संयोजक तथा नगर सभापति मोहन महर्जनले भद्रपुर नगरको नेतृत्व पटक–पटक अन्य दलले लिए पनि विकास र स्तरबृद्धि हुन नसकेको भन्दै यस पटक नेपाली कांग्रेसले नेतृत्व पाए सम्बृद्ध भद्रपुर सम्भव रहेको बताए । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार, पार्टीका कार्यकर्ता रहेको कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।

यसैबीच  भद्रपुर नगरपालिकालाई उप महानगरपालिका बनाउने भावी योजनाका साथ नेकपा एमाले भद्रपुर नगर निर्वाचन परिचालन कमिटीले ३१ बँुदे प्रतिबद्धता पत्र विहीवार सार्वजनिक गरेको छ ।
नगर निर्वाचन परिचालन कमिटीका संयोजक पुष्पराज पोखरेलले प्रतिबद्धता पत्र पुस्तिका सार्वजनिक गर्दै सडक, ढल निकास, खानेपानी, सरसफाई, स्वास्थ्य, सुरक्षा योजना, सञ्चार, कृषि, औद्योगिक कार्य, खेलकुद सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भन्सार व्यवस्थापन लगायत ३१ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका मेयर पदका उम्मेदवार जीवनकुमार श्रेष्ठले नगरको विकासका लागि विगतदेखि जनप्रिय काम गर्दै आएको दाबी गरे । उनले नगरलाई आर्थिक समृद्धिको नगरमा स्तरोन्नति गराउने योजनाहरु प्रतिवद्धता पत्रमा समावेश गरेको बताए । उनले कृषिमा विषादिमुक्त खेती, वजारीकरण, सडक सञ्जाल बिस्तार, भ्रष्टाचारमुक्त प्रशासन, बृहद् र विकसित नगरको परिकल्पना साकार पार्न आफू प्रतिबद्ध रहेको जिकिर समेत गरे ।

कार्यक्रमा उपमेयरका उम्मेदवार चन्दा श्रेष्ठ, वडाध्यक्षका उम्मेदवारसहित कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन घनश्याम अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर