Aamsanchar

मतदाताका घरदैलोमा ठुला दलका उम्मेदवार

Author Image
शनिवार, असार ३, २०७४

(मोहम्मद सदरुल)

भद्रपुर।

आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न हुन एघार दिन मात्र बाँकी रहेको अवस्थामा झापाका सबै भन्दा पुरानो सहर भद्रपुर नगरपालिकामा मतदाता र उम्मेदवारबीच तीव्रगतिमा भेटघाट एवम् छलफल भइरहेको छ ।

राजनीतिक दलका उम्मेदवारले जनताका माझमा आ–आफ्ना पक्षमा जनमत तयार गर्न ¥याली, घरदैलो, जुलुश निकाल्नेदेखि आपसी छलफल एवम् भेटघाटलाई तीव्र पारेका छन् ।

साविकको महेशपुर, चन्द्रगढी र पृथ्वीनगर गाविस गाभेर बनेको भद्रपुर नगरपालिकामा ६५ हजार ५४३ जनसङ्ख्या तथा कुल ४२ हजार ५७ मतदातामा २१ हजार २३२ मतदाता महिला छन् ।

दशवटा वडा रहेको भद्रपुर नगरपालिकामा कुल ५२ जना प्रतिनिधि निर्वाचित हुने यसका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले प्रमुख उपप्रमुृखसहित लगभग सबै वडामा उम्मेदवार बनाएर निर्वाचन गतिविधिमा जुटेका छन् ।

भद्रपुरमा लगभग एकैनासको समस्या रहेको र यसलाई अहिले सबै राजनीतिक दलले समाधान गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।
निर्वाचनमा प्रमुख पदका लागि मत मागिरहनु भएका नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेलले “पूर्वको मुख्य व्यापारिकद्वार शान्त, सुन्दर, समृृद्ध भद्रपुर नगर” लाई केन्द्रविन्दु बनाएर शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या हल, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन विकासमा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेकपा एमालेका प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठले विगतमा पनि आफूले उपप्रमुखका हैसियतबाट जनताको सेवा गरेको र अहिले आफनो उम्मेदवारीे कृषिमा विषादीमुक्त खेती, बजारीकरण, सडक सञ्जाल विस्तार, भ्रष्टचारमुक्त प्रशासन, वृहद र विकसित नगरको परिकल्पना साकार पार्न दिएको कुरामा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार शिवकुमार राजभण्डारीले विकासमा निकैपछि परेको भद्रपुर नगरपालिकाको चौतर्फी विकास गर्न, सुकुम्वासी समस्या समाधान गर्न, भद्रपुरलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न, यहाँ देखिएका स्थास्थ्य, शिक्षा, रोजगार, खानेपानी र जङ्गली हात्तीको समस्या समाधान गर्ने र जनतालाई न्यायमा पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार नवराज पनेरुले जनता आफ्ना जनप्रतिनिधि छान्न निकै उत्सुक देखिएकोले उहाँहरुको माग शिक्षा, स्वास्थ्य, रोजगारमा भद्रपुरवासीको पहुँच पु¥याउन आफै अहोरात्र खटिने कुरामा जोड दिनुभयो ।

यसैगरी, विगतमा चन्द्रगढी गाविसमा दुई पटक नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षको जिम्मेवारी वहन गरिसक्नु भएका दुर्गाप्रसाद भट्टराई अहिले स्वतन्त्र उम्मेदवार भएर प्रमुखका लागि जनताका माझमा मतमागिरहनु भएको छ ।

यहाँका सबैजसो उम्मेदवारले समस्या सडक, विद्युतीकरण, बेरोजगार, खानेपानी जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गर्ने र भद्रपुरलाई पूर्वको एउटा सुन्दर सहरको रुपमा विकास गर्ने वचन दिनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर