Aamsanchar

‘सहकारीहरु कमाइखाने भाँडो’

Author Image
बुधवार, असार ७, २०७४

दमक,

सहकारी संस्थाहरुले सेवाभन्दा बढी ब्यापार केन्द्रित रहेको र सर्वसाधरणहरुलाई झुक्याएर ठगी गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् ।
आकर्षक रुपमा बिज्ञापन गरेर र झुटो प्रलोभनमा पारेर खाता खुलाउने तथा रकम जम्मा गर्न उक्साउने तर ऋण लिन खोज्दा अनेकौ बहानाबाजी गर्ने गरेको पाइएको भन्दै यस्तो कार्य निरुत्साहित गर्नुपर्ने पनि बताइएको छ ।
झापाको दमक– ६ मा न्यू आदर्श समाज सहकारी संस्था लि.को सेवा शुभारम्भ कार्यक्रममा बोल्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले सहकारीहरु कमाइखाने भाँडो बनेको बताए । उनले सिमित ब्यक्तिहरुले लगानी गर्ने र सर्वसाधरणलाई रु. एकसयको शेयर बिक्री गरेको भन्दै अस्थाई सदस्य बनाएर ठग्ने गरेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरे ।
सहकारीहरुले व्यवसायी तथा सर्वसाधारणको रकम बचतमा कम ब्याज दिने र ऋण लगानी गर्दा भने तेब्बरसम्म ब्याज तथा त्यसमाथि २ प्रतिशतसम्म सेवा शुल्क कटाएर अन्याय गरेको भन्दै यस्तो कार्य सहकारीहरुबाट हुनु नहुने उनले बताए । वाणिज्य संघका अध्यक्ष ढकालले भने– ‘सहकारीहरु ठगी गर्ने संस्थाको रुपमा बिकास हँुदै गएकोप्रति हाम्रो चिन्ता र सरोकार रहेको छ ।’
यसैगरी सामाजिक अगुवा काशी खातीले सहकारीले उद्देश्य अनुरुप काम गर्न नसक्दा सहकारी क्षेत्र नै बद्नाम भएको भन्दै नाफाभन्दा सेवामा ध्यान दिन आग्रह गरे । नाफा कमाउने उद्देश्य भए अरु नै व्यापार गर्नुपर्ने बताउँदै सहकारीको नाममा व्यापारी तथा सर्वसाधरणलाई ठग्ने काम कसैबाट हुन नहुने उनको भनाइ थियो । खातीले नाममात्रका सहकारीहरुलाई नियमनकारी निकायले अनुगमन गरेर कारवाही गरेमात्र सर्वसाधारण तथा व्यापारी ठगिनबाट जोगिने बताए ।
सहकारीका अध्यक्ष भरत खातीले आफूहरुले सहकारी सेवा दिने उद्देश्यले खोलेकाले अन्य सहकारीभन्दा फरक रुपमा सञ्चालन गर्नेे बताए ।

 

दमकमा सहकारी संस्थाहरुबाट उपभोक्ता तथा ग्राहकहरु ठगिएको सुनेको बताउँदै आफूहरुले त्यस्तो नगर्ने र सबैको सल्लाह अनुसार सहकारीलाई सेवाको रुपमा अघि बढाउने जनाए । सहकारीले आफ्ना सदस्यको खानेपानी, बिद्युत्, टेलिफोन लगायतको बील आफंै तिरिदिने व्यवस्था मिलाएको समेत उनले जानकारी दिए ।
सोमबारदेखि सेवा बिस्तार गरेको यस सहकारी संस्थाले कार्यक्रममा अतिथि तथा सहभागिहरुलाई रंगिबिरंगी ब्याच र खादाको सट्टा छातीमा नेपालको झण्डा भएको सानो ब्याच र ढाका टोपी लगाइदिएर नयाँ अभियानको थालनी गरेको छ ।
अधिकांश कार्यक्रमहरुमा कहिल्यै नसडिने खादा र छातीमा रंगीबिरंगीका ब्याचहरुको सट्टा कार्यक्रमका सहभागीलाई राष्ट्रियताप्रति ओतप्रोत गराउन नेपालको झण्डा र ढाका टोपीले स्वागत गरेको सहकारीका उपाध्यक्ष रुपक दाहालले बताए ।
दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले यो एउटा नमूना अभियान थालनी भएको बताए । उनले राष्ट्रियताको पक्षमा यो एउटा सकारात्मक कदम भएको बताउँदै खादा र रंगीबिरंगी ब्याच लगाउने प्रथालाई अन्त्य गर्न सहकारीले आफ्नो शुभारम्भमा नै थालेको कदम सकारात्मक भएको भन्दै प्रशंसा गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)