Aamsanchar

भयरहित वातावरणमा मतदान गराउने दायित्व सरकारको हो– गृहमन्त्री

Author Image
बिहिवार, असार ८, २०७४

विराटनगर।

गृहमन्त्री जनार्दन शर्माले आज विराटनगरमा प्रदेश नं १को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गर्नुभयो ।

स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले एकअर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति रहेको छ ।

यसका साथै, प्रदेश नं १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीको पनि सहभागिता रहेको छ ।  सो अवसरमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले अब मुलुकमा सङ्घीय प्रशासनिक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी गराउनुभयो ।
स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने, राजनीतिक समस्याको समाधान हुने र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास प्रकट गर्नुभयो ।

दोस्रो चरणको निर्वाचनका लागि प्रायः सबै दल निर्वाचनमा सहभागी भएको भन्दै गृहमन्त्री शर्माले राजपा र विप्लव समूहले स्वतन्त्र रुपमै केही ठाउँमै भए पनि निर्वाचनमा सहभागी भएको उल्लेख गर्नुभयो ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेले गोष्ठीको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर