Aamsanchar

एकल महिला पार्वता बिर्तामोडमा कांग्रेसबाट उपमेयरको सशक्त उम्मेदवार

Author Image
शनिवार, असार १०, २०७४

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाको उपमेयर पदमा एकल महिला पार्वता गिरी सशक्त उम्मेदवारको रुपमा उभिएकी छिन् । नेपाली कांग्रेसमा उपमेयरको उम्मेदवार बनेकी बिर्तामोड–२ निवासी पार्वता अहिले घर–घरमा भोट माग्न व्यस्त छिन् ।
बिर्तामोडलाई विकसित र समृद्धका साथै सुशासनका दृष्टिले भ्रष्टाचारमुक्त गरी सदाचारयुक्त बनाउँदै हरेक तह र निकायमा महिला सहभागिता सुनिश्चित गर्ने लगायतका पार्वताका योजना छन् ।
सामान्य किसान परिवारकी छोरी तथा बुहारी ४६ वर्षकी पार्वता सानै उमेरदेखि राजनीति र सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छिन् । श्रीमान्को निधनपछि पनि विचलित नभई परिवारको अनुशासन र सामाजिक मर्यादालाई उच्च बनाउँदै उनी सेवामै सक्रिय रहेको बताउँछिन् । पार्वतले भनिन्– ‘मेरो श्रीमान् तत्कालीन चारपाने गाविसका नवनिर्वाचित उपाध्यक्ष कृष्णराज गिरीको २०५९ सालमा अकल्पनीय रुपमा भएको स्वर्गारोहणको गहिरो चोट समेत सहेर कति पनि विचलित नभई म निरन्तर राजनीति र समाजसेवामा सक्रिय छु ।’

कुराभन्दा काममा विश्वास गर्ने र बोलेको कुरा पूरा गरेर देखाउने पार्वता सरल र मिजासिलो महिला नेतृको रुपमा परिचित छिन् । छोरीसँगै एक असल बुहारी अनि कुशल आमा र गृहिणीको रुपमा समेत उत्तिकै अब्बल पार्वता सामाजिक सेवामा समेत उत्तिकै सफल छिन् । राजनीतिक र जातीय रुपले कसैप्रति पूर्वाग्रह नराख्ने पार्वता सबैलाई समान र सम्मानपूर्वक व्यवहार गर्ने स्वभावकी छिन् । उनको यही स्वभावका कारण महिला, विभिन्न समुदाय तथा सामाजिक संघ–संस्थामा उनी प्रिय बनेकी छिन् ।

२०३८ सालमा विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहारा नेपाल(साकोस), नेपाल रेडक्रस सोसाइटी, एकल महिलाको केन्द्रीय समिति सचिव जस्ता संस्थामा आबद्ध छिन् । पार्टीमा लगातार दुई कार्यकालदेखि जिल्ला सदस्य रहेकी पार्वता क्षेत्रीय प्रतिनिधि पनि हुन् । बृद्ध मातापिता, गरीब, असहाय, एकल महिला, अपाङ्गता भएकाहरुको सेवामा उनीले पहिलेदेखि नै सक्रिय छिन् । ‘म अरुको दुःख देख्न सक्दिन त्यसैले तत्कालै सकेको सहयोग गर्छु, सदभाव बाड्छु । पार्वताले भनिन्– ‘मलाई बिर्तामोडबासीले उपमेयरमा मत दिएर विजयी गराउनु भयो भने सबैको उदाहरणीय बनेर सेवा गर्नेछु ।’
उनले आफूले एक पैसा भ्रष्टाचार पनि नगर्ने, भ्रष्टाचार गर्नेलाई तत्कालै कारवाही गर्ने बताइन् । ‘म कुनै पदमा भए पनि नभए पनि बिर्तामोडबासीको सेवा गर्ने मेरो लक्ष्य हो, त्यसैले अवसर दिनुभयो भने सबैको सेवा र बिर्तामोडको विकास गर्छु’– पार्वताले भनिन् ।
पार्वता जिल्लाकै एउटा सशक्त, ऊर्जाशील र सबैलाई समेटेर लान सक्ने खुबीकी महिला नेतृ रहेको मोहन माया माविकी पूर्व प्रधानाध्यापक विन्दु श्रेष्ठ बताउँछिन् । श्रेष्ठले भनिन्– ‘कसैलाई चोट नपु¥याउने सकेको सबैलाई सहयोग गर्ने पार्वताको स्वभाव छ ।’ अरु उम्मेदवारभन्दा पार्वता व्यवहारिक, सामाजिक, राजनीतिक रुपले खारिएको र अनुभवी नेतृ भएको शिक्षक कृष्णमाया रिजाल बताउँछिन् । बिर्तामोडकी आदिवासी महिला अनु राजवंशी, गरीब दिन दुःखीलाई सहयोग गर्ने, सबैको कुरा सुन्ने, हरेकको दुःखमा साथ दिने, जातभात र धनी, गरीब नछुट्याउने राम्रो महिला नेतृ पार्वता भएको बताउँछिन् । बिर्तामोडकी दलित महिला रिमा चाहार जाति र वर्गभन्दा माथि उठेर हामी सबैको पिर मर्का बुझिदिने समाजसेवी पार्वता भएको बताउँछिन् । वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना सिटौला पार्वता गिरी बारे भन्छिन्– ‘उहाँ समाजमा जसलाई जे पर्दा पनि पार्टी र जाती नहेरी निस्वार्थ रुपले सेवामा खटिने नेतृ हुनुहुन्छ ।’
पार्टीको घोषणापत्रमा उल्लेखित बिर्तामोडलाई नमूना बनाउने योजना कार्यान्वयन गर्ने मेयर पदका उम्मेदवार जलकुमार गुरुङसहित उनको साझा प्रतिबद्धता छ । त्यसवाहेक अरु पनि उनका खास एजेण्डा रहेका छन् । वृद्ध मातापिता, अपाङ्गता भएकाहरु तथा एकल महिलाको सामाजिक सुरक्षा भत्ता स्थानीय आन्तरिक स्रोतबाट वृद्धि गरी घर–घरमै पुर्याउने उपमेयरकी उम्मेदवार पार्वताको योजना छ । उनले एकल महिलालाई रोजगारीका साथै आयमुलक कार्यमा समावेश गर्ने बताएकी छिन् ।
७० वर्ष पुगेका मातापिताको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारमा अनुदान दिनुका साथै बिर्तामोडका सबै बासिन्दाको स्वाथ्य बीमा गरी उपचारमा विशेष टेवा पुर्याउने पार्वताका एजेण्डा छन् । बिर्तामोडलाई सबैको सहकार्यमा बन्द, हड्ताल मुक्त र जबरजस्ती चन्दाआतंक मुक्त गर्ने उनले बताएकी छिन् । सुकुम्बासी र गरीबका समस्या पहिचान गरी समाधान गर्ने उनको प्रतिबद्धता छ । चिया बगान, ग्यारेज तथा विभिन्न क्षेत्रमा कार्यरत् श्रमिकका छोराछोरीका लागि शिक्षाको ग्यारेन्टी गर्न छात्रवृत्तिको व्यवस्था गर्नुका साथै मुस्लिम, दलित, अल्पसंख्यक, सिमान्तकृत, पिछडावर्ग समुदायलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने व्यवस्था गर्ने पार्वताको एजेण्डा छ ।
त्यस्तै बिर्तामोडलाई महिला हिंसामुक्त, बालश्रम मुक्त, जातीय विभेदमुक्त, वर्गीय विभेद मुक्त नगरपालिका बनाउनुका साथै विभेद र हिंसाबाट पीडित भएकाहरुलाई समयमानै न्याय दिलाउन निःशुल्क कानूनी सेवा प्रदान गर्ने उनको प्रतिबद्धता छ । शौचालय नभएका घरमा शौचालय निर्माण, हरेक घरमा खानेपानी, घर–घरमा विद्युत् र सडकमा सौर्यबत्ती जडान गर्ने योजना रहेको उनले सुनाइन् । शिक्षित महिलालाई रोजगारमा संलग्न गराइने तथा अन्य सबै महिलालाई आयमुलक कार्यक्रममा समावेश गरी बिर्तामोडलाई महिला सशक्तिकरणको नमूना नगर बनाउने उनले बताएकी छिन् ।
महिलाको क्षमता विकास, सम्मान र सहभागिता विकास वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालनका साथै महिला समूहलाई सरल ब्याजमा ऋण तथा अनुदान सहयोग उपलब्ध गराउँदै सुत्केरी महिला र नवजात शिशुलाई पोषण भत्ता दिने समेत उनको योजना छ । हरेक घरमा रोजगारी, टोल–टोलमा ज्येष्ठ नागरिक चौतारी, युवालाई उद्यमी बनाउने लगायत ४४ बुँदामा उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी छिन् । एकल महिला, असक्त, अपाङ्गता, सुस्त मनस्थिति, जटिल मानसिक रोगी, असहाय र बेसहाराहरुको स्वास्थ उपचारमा विशेष छुट दिने बताउँदै पार्वताले भनिन्– ‘एकपटक अवसर दिनुहोस्, तपाईंको मतको उच्च कदरसहित बिर्तामोडलाई नमूना बनाउने बिर्तामोडबासीको सपना साकार पार्ने प्रण गर्दछु ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर