Aamsanchar

‘दुःख बुझ्ने उम्मेदवारलाई भोट’

Author Image
आइतवार, असार ११, २०७४

बिर्तामोड।

आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तिथि जति–जति नजिकिँदैछ त्यति नै चुनावी माहौल पनि बढ्दै गएको छ ।
राजनीतिक दलहरु आफ्ना समर्थक, शुभेच्छुक कार्यकर्तासहित प्रतिबद्धता पत्र लिएर मतदाता माझ घरदैलो गर्दै भोट माग्दैछन् । त्यस्तै मतदाता पनि कस्तो उम्मेदवार छान्ने भनेर मूल्यांकन गर्न थालेका छन् । बिर्तामोड नगरपालिकाका जुत्ताचप्पल सिलाउने तथा कपडा सिलाई–बुनाई गर्ने मजदुरहरु भने आफूहरुको दुःख बुझ्ने नेतालाई भोट दिने बताउँछन् ।
दश वर्षदेखि बिर्तामोडमा जुत्ताचप्पल सिलाई तथा मर्मत गर्दै आएका अशोक राम भन्छन्– ‘घामपानी सहेर गर्ने हाम्रो पेसालाई सम्मान गर्ने र हाम्रो दुःख–सुख बुझ्ने उम्मेदवारलाई हामी भोट दिन्छौं ।’ उनले भने– ‘पहिलेको जस्तो केही नगर्ने नेतालाई भोट दिएर के काम ?’ उनको भनाइमा यसअघि नेतालाई भोट दिएर कुनै प्रतिफल नपाएकोप्रति आक्रोश र असन्तुष्टि थियो । यसपटकको चुनावबाट अधिकारसम्पन्न स्थानीय सरकार बन्ने भएकाले केही होला कि भन्ने आशा बढेको उनले बताए । नियमित रुपमा पत्रपत्रिका पढ्दै आएका देशको समसामयिक घटनाबारे जानकारी राख्ने उनले मताधिकार कसैले पनि गुमाउन नहुने बरु असल नेता चुन्न विवेक पुर्याउनु पर्ने बताए ।
बिर्तामोडको मुक्तिचोक पूर्व हाइवे सडक पेटीमा एकै स्थानमा करिब २० जनाभन्दा बढीको संख्यामा यो पेसा गर्दै आएका उनीहरुको तातोघाम सहेर बस्नुपर्ने रहर नभई बाध्यता भएको र व्यवस्थित स्थान उपलब्ध गराइदिए त्यहाँ नबस्ने उनीहरुको भनाइ छ ।
त्यहाँ बसेर काम गरेवापत नगरपालिकालाई दैनिक १५ रुपैयाँ कर बुझाउँदै आएका उनले भने– ‘हाम्रो माग नै यही हो, हामीले भोट दिएर जितेका नेताले ढुक्कसँग जुत्ता चप्पल सिलाएर आफ्नो पेसा गरेर गरिखान पाउने वातावरण मिलाइदिउन् । सोही ठाउँ छेउमा रहेका अर्का जुत्ता सिलाउँदै गरेका मनोज रामले आम्दानीभन्दा पनि ट्राफिक प्रहरीको ज्यादतिले आफूहरुले सास्ती खेप्नु परेको बताउँदै यसतर्फ ध्यान दिने, हाम्रो पीरमर्का बुझिदिनेलाई नै मत खसाल्ने निश्चय गरेको बताए ।
शुभकामना टेलर्समा कपडा सिलाई कटाईको काम गर्दै आएका पवन कर्ण र राजकुमार राजवंशीले पनि उनीहरुको हित गर्ने, विकास गर्ने जनसेवी उम्मेदवारलाई भोट दिने बताए । बिर्तामोड नगरपालिका– ६ जात्रुबारी बस्ने राजवंशीले भने– नेताका आश्वसन र भाषण धेरै सुन्यौं, अब कुरा अनुसारको काम गर्नेलाई भोट दिने हो ।
उनीहरुका अनुसार टेलरिङ पेसामा त्यस्तो समस्या नभए पनि शान्ति सुव्यवस्था कायम गर्ने र बिर्तामोडलाई सुन्दर नगरीका रुपमा विकास गर्नसक्ने उम्मेदवारलाई जिताउन पर्छ । बिर्ताबजारका टेलरिङ पेसामा आबद्ध रोशन साहको विचारमा भ्रष्टलाई चोट र राम्रालाई भोट दिने अवसर नै चुनाव भएकाले भोटको सदुपयोग त्यसरी नै गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर