Aamsanchar

सुनवल बम घटनाको अनुसन्धान गर्न चार पक्राउ

Author Image
सोमवार, असार १२, २०७४

नवलपरासी :

नवलपरासीको सुनवलमा आइतबार मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।सनुवल नगरपालिकाका विभिन्न राजनीतिक दलले निकालेको चुनावी जुलसमा नेकपा माओवादी केन्द्रलाई लक्षित गरी आइतबार दिउँसो सोमनाथ पुलमा बम विष्फोट गराइएको थियो ।

प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ । विष्फोटमा ६ जना घाइते भएका छन् । घाइते मध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गंभीर रहेकाले उपचारका लागि काठमाण्डौं पठाइएको छ । अर्की गंभीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोट नेत्रचन्द विक्रम विप्लव समूहले गराएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विनयीत्रिवेणी गाउँपालिका- ३ का पुरुषोत्तम रेग्मी(५६), सरावल गाउँपालिका- १ का कान्तीशंकर पराजुली (३९), सुनवल नगरपालिका-१२ की दुर्गादेवी पाण्डे( ४०) र मध्यविन्दु नगरपालिका-९ का धनबहादुर कुमाल(४२) छन् । उनीहरुले निर्वाचन विरोधी शंकास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो ।

मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा पाँच वटा विष्फोट र आगजनीका घटना भएका छन् । जसमा तीन वटा विष्फोट र दुई वटा सवारी साधन माथि आगजनी भएका छन् । घटनामध्ये चार वटा माओवादी केन्द्र माथि भएका छन् । एउटा विष्फोटको घटना एमालेका उम्मेदवारको घरमा गराइएको छ । सबै घटना विप्लव समूहले गराएको आशंकामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर