Aamsanchar

मतदानअधिकृतदेखि सहयोगीसम्म महिला

Author Image
सोमवार, असार १२, २०७४

इलाम  ।

स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुनाका बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र दुईजना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ ।

जिल्लाको सबैभन्दा टाढा रहेको अमर कल्याणमा निर्वाचन सम्पन्न गर्ने दृढताका साथ लाग्नुभएकी मतदान अधिकृत विमला मिश्रले भन्नुभयो, “पुरूषले गर्न सक्ने काम हामी महिलाले चाहिँ किन गर्न नसक्ने, सहज र सौहार्दपूर्ण वातावरणमा निर्वाचन गर्नु मेरो दायित्व हो ।”

चार नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा एक लाख ८९ हजार २७४ मतदाता छन् । सबै मतदान केन्द्रमा शनिबारै कर्मचारी पुगिसकेका र आजदेखि मतदाता परिचयपत्र वितरणको काम सुरु हुने जनाइएको छ ।
चार सञ्चारकर्मी प्रतिस्पर्धामा

आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामबाट चारजना सञ्चारकर्मी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सदरमुकामस्थित सामुदायिक रेडियो नेपालवाणी एफएममा कार्यरत सङ्गीता थामीले नेकपा (माओवादी केन्द्र)को माई जोगमाई नगरपालिकाबाट उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुभएको छ । अल्पसङ्ख्यक थामी समुदायको पहिलो उम्मेदवार हुनुहुन्छ ।
अनुशासन र लगनशीलताकै कारण आफ्नो हातमा जित हात पर्ने दाबी गर्दै उहाँले भन्नुभयो, “थामी समुदायको आफ्नै भाषा, संस्कृति एवम् पहिचान छ । पछिल्लो समय उक्त समुदायको पहिचान मेटाउने प्रयास भएकाले मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।”

जिल्लाको रोङ गाउँपालिका अध्यक्षमा नवराज कट्टेलले माओवादी केन्द्रबाटै उम्मेदवारी दिनुभएको छ । विगत १२ वर्षदेखि विराटनगरमा बसेर पत्रकारिता गर्दै आउनुभएका उहाँ पनि उम्मेदवारीका पछि गाउँ–गाउँमा मत माग्न व्यस्त हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखामा दुुई कार्यकाल सचिवसमेत भइसक्नुभएका कट्टेल आफूले जित्ने दाबीका साथ चुनावी प्रतिस्पर्धामा लागेको बताउनुहुन्छ ।

इलाम नगरपालिका–५ वडाध्यक्षमा अर्का पत्रकार ठाकुुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिनुभएका उहाँ नेपाल पत्रकार महासङ्घ इलाम शाखाको कार्यसमिति सदस्य साथै इलाम पोस्ट दैनिक, इलाम आवाज साप्ताहिकमा समेत कार्यरत हुनुहुन्थ्यो । बरबोटेका स्थानीय युुवाले आग्रह गरेपछि वडाध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।

रेडियो फिक्कलमा कार्यरत तथा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्षसमेत बन्नुभएका जय राईले सूर्योदय नगरपालिका–९ बाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । टोलको विकास गर्न र युुवालाई सक्रिय राख्नसमेत आफूले उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ । उनीहरूले उम्मेदवारी घोषणा गरेसँगै मतदातासमक्ष मत माग्न व्यस्त छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)