झापा,
राजधानीमा हर्न निषेध गरेको केही महिना पछि नै झापाको विर्तामोडलाई पनि हर्न निषेध प्रक्रिया सुरु गरिएको छ ।
विर्तामोड स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सोमबार भएको सर्वपक्षिय छलफलबाट विर्तामोडको बजार क्षेत्रलाई हर्न निषेध गर्नका लागी प्रक्रिया सुरु गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी याम खड्काले जानकारी दिए ।

उनका अनुसार सात दिनसम्म सचेतना मुलक कार्यक्रम गरेर हर्न निषेधको विषयमा जानकारी गराउने र त्यसपछि निश्चित मिति तोकेर निषेधित क्षेत्र नै घोषणा गरिने छ । हर्न निषेध गरेपछि पछि कसैले पनि कानुनको उल्लघन गरेमा ५ सय देखि एक हजार रुपैंया सम्म जरिवनाको ब्यवस्था गरिएको छ ।

ध्वनी प्रदुषणका कारण विर्तामोड क्षेत्रमा कोहालाल बढ्दै गएपछि ट्राफिक प्रहरीको सक्रियतामा हर्न निषेध अभियानलाई सञ्चालन गर्न सुर गरिएको छ । पूर्वको इटहरीलाई पनि हर्न निषेधित क्षेत्र घोषणा गरिसकिएको छ ।
मेची अञ्चलकै प्रमुख ब्यपारी केन्द्र भएकाले पनि विर्तामोड क्षेत्रलाई हर्न निषेध गर्ने विषयमा सबै सरोकारवाला पक्षले पहल गर्ने सहमति भएको खड्काले बताए । छलफलमा अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख पिताम्बर ठाकुर, विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, दुर्घटना रहित महाअभियानका संयोजक गोपाल कुमार बस्नेत, मदन गोपाल सुब्बा, नेपाल इ–रिक्सा चालकसंघका केन्द्रिय सदस्य लयप्रसाद मैनाली, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालय विर्तामोडमा प्रमुख, यातायात ब्यवसायी राष्ट्रिय महासंघ मेचीका प्रतिनिधि, यातायात कार्यालय मेचीका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
जिल्लामा दुर्घटना न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले विर्तामोडको फुटपाथ ब्यवस्थापन गरेर यात्रुलाई सहजरुपमा हिड्ने ब्यवस्था गर्नका लागी पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाइएको छ । पछिल्लो समय दुर्घटनको संख्यामा कमी आएपनि मृत्युहरुको संख्या बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै सबै क्षेत्रमा सचेतना तथा कारबार्हीको क्रमलाई कडाइका साथ लैजाने विषयमा ट्राफिक प्रहरी लागी गरेको सूचना अधिकारी याम खड्काले जानकारी दिए ।


