Aamsanchar

प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास :चुनावी गाँठो फुक्यो

Author Image
सोमवार, भदौ १९, २०७४

काठमाडौँ ।

राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । नेपाली काँग्रेसका राधेश्याम अधिकारी, शंकर भण्डारीलगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको हो ।

यसअघि नेपाली काँग्रेसका १९ सांसदले भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित भएका व्यक्तिले तीन वर्षपछि चुनाव लड्न चाहेमा उनीहरुको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै राज्य व्यवस्था समितिमा संशोधन विधेयक दर्ता गरेका थिए ।

सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गते गर्ने निर्णय गरिसकेको थियो । यद्यपि निर्वाचनसम्बन्धी कानून नभएकाले चुनावको तयारी प्रभावित थियो ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले आजै उक्त विधेयक संसद्मा पेश गर्ने भएको छ । आजको बैठकमा गंगालाल तुलाधार, ईश्वरी न्यौपाने, विक्रमबहादुर थापा, आनन्दप्रसाद ढुंगाना, रेखा शर्मा, वामदेव गौतमलगायत सांसदले विधेयक सम्बन्धमा धारणा राख्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर