[तीर्थराज खरेल]
हामी ठूलो रुख देख्दछौं, तर रुख हुनका लागि त्यसले गरेको संघर्ष, आँधीहुरी, शीत र घामसँग जुधेको पृष्ठभूमि हामी सम्झन्नांै । मानिस शिखरमा पुगेको मात्र देखिन्छ, मानिसको सफलता मात्र देखाइन्छ, सुख प्राप्तिका लागि उसको पृष्ठभूमिको वर्णन कमै हुन्छ । सफलता प्राप्त गर्न मानिसले जीवनमा ठूलो संघर्ष गरेको हुन्छ । आम सञ्चार क्षेत्र र हाम्रो समाजले पनि सामुन्नेका मात्रै देख्ने गरेको छ ।
दोस्रो विश्वयुद्धको विभिषिकाको सबैभन्दा ठूलो मार खेपेको जापान आज विज्ञान र प्रविधिको क्षेत्रमा आश्चर्यजनक प्रगति गर्दै संसारकै सबभन्दा ठूलो दाताराष्ट्रको रुपमा स्थापित हुन सफल बनेकोे छ । यसमा सबभन्दा ठूलो भूमिका श्रमप्रतिको सम्मान रहेको छ । जापानीहरु सबैभन्दा बढी माया आफ्नो मातृभूमिलाई गर्छन् र आफ्नो कामलाई गर्छन् । श्रमप्रतिको सम्मान गर्नेमा सबैभन्दा अगाडि जापानीहरु नै पर्दछन् सायद । कुनैबेला युरोपेली दासताको बोझ बोकेको संयुक्त राज्य अमेरिका आज संसारकै सबैभन्दा शक्तिशाली राष्ट्र बनेको छ । यसका पछि पनि श्रमप्रतिको लगाव नै प्रमुख कारण हो ।
नेपालका पढेलेखेका मानिसहरु उत्पादनका कामसँग गासिँदैनन् भन्ने सोचाइ छ । यो मानसिकतालाई खण्डन गर्न सक्नुपर्छ । श्रमप्रतिको सम्मानले नै आम जनतामा सकारात्मक सन्देश दिन सफल हुने निश्चित छ । हरेक सक्षम नागरिकले श्रमसँग गाँसिने नीतिको शुरुवात हुन आवश्यक छ । राजनीति लगायत हरेक क्षेत्रका नेतृत्वले शारीरिक श्रमसँग जोडिनुपर्ने दिशामा कदम चालिनु आवश्यक छ । शारीरिक, मानसिक तथा बौद्धिक श्रमबाट अलग गरेर बौद्धिक बिलासितामा मात्र रम्ने हो भने कुलीन बुद्धिजीवी हुने बाटोमा लागिन्छ ।
आज धेरै जसो शिक्षित र चेतनशील नेपालीहरु श्रमबाट अलग बसेर कथनीमा मात्र श्रमप्रति आस्थावान देखिन चाहन्छन् । देखावटी मुखौटो लगाएर हाम्रा राजनीतिक दलका नेतृत्वहरु, सामाजिक संघ–संस्थाका अगुवाहरु, विद्यालय र महाविद्यालयका शिक्षक र प्राध्यापकहरुको ठूलो हिस्सा शारीरिक श्रमबाट पृथक रहेर कुरा मात्र गर्ने एकलकाँटे संस्कृतिको पक्षपोषण गरिरहेछन् । श्रम र श्रमिकप्रति अनादर र अपहेलना गर्ने संस्कृति सामन्तवादी दासताको संस्कृति हो ।
व्यक्ति, व्यक्तिहरुको समूह र समाजले परम्पराकालदेखि अभ्यास गर्दै आएका मूल्यमान्यताहरुको समुच्च रुप नै संस्कृति हो । श्रमप्रतिको आस्था भन्नु नै काम गर्ने संस्कृतिप्रतिको सम्मान हो । व्यवसायिक संघ–संस्था तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने संस्कृतिको सार्थक प्रयोगबाट मात्रै ती संस्थाहरुको प्रगति सम्भव छ । समाज निरन्तर परिवर्तनशील छ । भौतिक वस्तु तथा समाजमा हुने परिवर्तनशीलता सार्वभौम सच्चाइ हो ।
स्थापित सकारात्मक मान्यताहरुलाई पुरै बिर्सने र परिवर्तनलाई पुरै नकार्ने दुबै प्रवृत्तिहरु गलत हुन् । काम गर्ने संस्कृतिको रक्षा र विकास गर्न विगत र वर्तमानका असल मूल्यमान्यताहरुलाई निरन्तरता दिनुपर्छ भने श्रमप्रतिको अनादरभाव हटाउन समाजका अगुवाहरु नै उदाहरणीय बन्नुपर्छ । प्रश्न उठछ– हाम्रो देशका कति प्रतिशत नेतृत्वमा रहने अगुवाहरु शारीरिक श्रम गर्छन् ? यसको सोझो उत्तर छ– नेपालका अत्यन्तै न्यून प्रतिशत नेताहरु शारीरिक श्रम गर्छन् ।
शारीरिक श्रमप्रतिको उपेक्षाले उनीहरु क्रमशः श्रम विरोधी र श्रमिक विरोधी हुन्छन् । शक्तिकेन्द्रको चाकरीचाप्लुसी गर्ने र अरुको पसिनामा ढलीमली गर्ने प्राडो– पजेरो संस्कृतिको हिमायती बन्छन् । जनतासँगको सहकार्य र घनिष्ठताबाट टाढिँदै जान्छन् श्रमप्रति सम्मान नगर्नेहरु । अरुको रगत पसिनामा रजाइँ गर्ने ठालु प्रवृत्तिमा बढोत्तरी हुँदै जान्छ समाजभित्र, दलहरुभित्र र राज्यका महत्वपूर्ण निकायहरुभित्र ।
हिलोमा भैंसी आहाल बसे झैं हाम्रा नेताहरु सदैव अर्काले गरिदिएर खाउँला भन्दै दलदले भासमा चुर्लुम्म डुबेका छन् । चे ग्वेभारा, अल्बर्ट आइन्स्टाइन, अब्राहम लिङ्कन, महात्मागान्धी जस्ता श्रमप्रति उच्च सम्मान प्रकट गर्ने र आफ्नै जीवनमा समेत लागू गर्ने सादा जीवन र महान विचारका महामानवहरुका आदर्श पथ हामीले पछ्याउन जरुरी छ ।
श्रम गरेर मात्र खानुपर्छ भन्ने कुरा बुझ्ने हो भने आजको दुनियाँ स्वार्थी, अविवेकी र पापी हुने थिएन । दोष निरक्षर र अशिक्षितहरुको होइन, दोष त तथाकथित चेतनशील समाज हाँक्ने अगुवाहरुको हो । साँचो अर्थमा काम गर्ने संस्कृतिको बढोत्तरी हुनु भनेको श्रमप्रति आस्थावान हुनु र व्यवहारमा श्रमप्रति सम्मान बढ्दै जानु हो । काम गर्ने संस्कृति निर्माणका लागि हरेक क्षेत्रको नेतृत्व गर्नेले आफ्नो जीवनबाट परिवर्तन शुरु गर्न आवश्यक छ । एउटा सरकारी वा गैरसरकारी संस्थाका प्रमुख मितव्ययी छन् र मुखले श्रमप्रति सम्मान प्रकट गर्छन्, तर आफू भने अल्छी र स्वार्थी छन् भने उनीबाट मातहतमा रहेकाहरुले के आशा गर्न सक्छन् ? मानसिक र बौद्धिकका साथसाथै शारीरिक श्रममा निरन्तर संलग्न हुँदै चालक शक्तिको रुपमा उभिन सके मात्र आफू र समाज दुबै रुपान्तरण हुनसक्छ ।
श्रमसँग गाँसिने संस्कृति हामीले विकास गर्न जरुरी छ । श्रमप्रति आदरभाव राख्नु भनेको दासता होइन, यो न त आरामदायक सुरक्षित कोठामा बसेर स्वतन्त्रता प्राप्त गर्न लडेको कथाको वर्णन नै हो । क्रान्ति र स्वतन्त्रताका उक्तिहरु घोकेर श्रमप्रति सम्मान गरेको ढोल पिट्नु जस्तो ढोंग के हुनसक्छ ? आफ्नो श्रमको अर्थ बुझ्ने र अरुको श्रमको आदर गर्ने परिपाटीको विकास गर्नु अत्यावश्यक छ ।
सकारात्मक सोच र सो अनुसारका क्रियाकलापहरु व्यक्तिबाट समाज र समाजबाट देश हुँदै विश्वव्यापकतातर्फ उन्मुख हुन्छन् । हामीलाई गधा र भेडा जस्ता अन्धानुकरण गर्ने दास श्रमिकहरु होइन, जाग्रत चेतना बोकेका आलोचनात्मक दृष्टिकोण भएका श्रमिकहरु चाहिएको हो । हाम्रो नेतृत्व लम्पट सर्वहारा होइनन् । हामीलाई त निस्वार्थी र श्रमप्रति आस्थावान राजनीतिक अगुवाहरु चाहिएको छ । समाजमा विद्यमान तनाव र अस्थीरता हटाउने अचुक उपाय भनेको हरेकलाई श्रमसँग जोड्नु हो । हामी चाहन्छौं– सबै श्रमसँग जोडिउन् ।
सबैले काम गर्ने संस्कृतिको विकास हुन सकोस् । श्रम नगरी कसैले बाँच्ने कल्पनासम्म पनि नगरोस् । अरुको पसिनामा राज गर्ने चलनको अन्त्य होस् । तर समाजका चालकहरुको ठूलो संख्या निरन्तर कामचोर र आत्मकेन्द्रित हुँदै गएको छ । सबभन्दा पहिलो कुरा समाज र राज्यका संवाहकहरु अरुको नजरमा उदाहरणीय बन्नुपर्छ ।
झुप्रो र कटेरोभित्र बसेर क्रान्तिका प्रशिक्षण दिने ठूला नेताहरु मन्त्री बनेपछि श्रमप्रति घृणा गर्दै राजधानीमा आलिसान महलमा बसेर आफ्नो विगतका दुःखका दिनहरु बिर्सन्छन् । श्रम र श्रमिकबाट कटेपछि उनीहरु क्रान्तिका यथार्थ सपनाबाट विचलित हुन्छन् । अनि शुरु हुन्छ प्रतिक्रान्ति । श्रमसँग जोडिएर र श्रमप्रति आदरसम्मानको भाव राखेपछि मात्र समाजले गति लिन्छ । मन्त्री भएपछि पनि निरन्तर आम मजदुरहरुसँगै शारीरिक श्रम गर्ने चे ग्वाभाराबाट हामीले शिक्षा लिन अत्यन्तै जरुरी छ ।
जरुरी छ– नेपाली समाजलाई श्रमप्रति आदर गर्ने र काम गर्ने संस्कृति भएको सभ्य समाजको रुपमा विकास गर्न । हामीले बुझ्न आवश्यक छ– आजको जापान छोटो अवधिमा सम्पन्न हुनमा योजनाबद्ध विकास र श्रमप्रतिको उच्च सम्मान नै हो । हरेक विकसित देशको पछाडि श्रमप्रतिको निष्ठा सबैभन्दा प्रमुख कारक तत्वको रुपमा रहेको छ । विकास र सभ्यताको मूल आधार श्रमप्रतिको सम्मान हो र सदियौंदेखि जरा गाडेर बसेको श्रमलाई अनादर गर्ने परिपाटीको अन्त्य हुन आवश्यक छ ।