Aamsanchar

झापामा कतै विवाद, कतै अन्यौल

Author Image
सोमवार, असोज ३०, २०७४

दमक।

प्रमुख राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरेर निर्वाचनको गतिविधिमा लाग्न थालेसँगै चुनावी तालमेलको चर्चाले झापामा कतै विवाद सिर्जना भएको छ भने कतै अन्यौल सिर्जना भएको छ ।
नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओबादी केन्द्रका नेता राम कार्की, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन लगायतका पार्टीमा नाम चलेका नेताहरु झापा जिल्लाबाट उम्मेदवार हुने भएपछि अहिले यस बिषयमा चर्को बहस शुरु भएको छ ।
नेकपा एमाले र माओबादी केन्द्रबीचको चुनावी तालमेलले दुबै पार्टीका स्थानीय नेताहरु अन्यौलमा रहेका छन् । क्षेत्र बाँडफाँड कसरी हुने हो र कुन निर्वाचन क्षेत्र छाड्नुपर्ने हो भनेर झापामा अन्यौल सिर्जना भएको छ । पहिलो संबिधानसभा निर्वाचनमा पराजित र दोश्रो संबिधानसभा निर्वाचनमा फराकिलो मतान्तरले बिजय बनेका एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट उम्मेदवार हुने निश्चित रहेकाले यहाँ कांग्रेसले कसलाई उम्मेदवार बनाउला भनेर पनि चासोका साथ हेरिएको छ ।
यहाँबाट नेपाली कांग्रेसले पूर्व मन्त्री समेत रहेका कांग्रेसका पुराना नेता केशवकुमार बुढाथोकी र अधिवक्ता समेत रहेका राजन ढुंगानामध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसका एक जिल्ला सदस्यका अनुसार बुढाथोकी समानुपातिकमा बसेर ढुंगानालाई अघि सार्ने सम्भावाना बलियो रहेको छ । यद्यपि बुढाथोकी नै भीड्न सक्ने पनि बताइन्छ । यसभन्दा अगाडि बुढाथोकी झापाको साविक क्षेत्र नं. ५ बाट बिजय बनेका थिए ।
नेपाली कांग्रेसको तर्फबाट झापाको क्षेत्र नं. ३ बाट उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले राप्रपासँगको गठबन्धनको क्रममा यो क्षेत्र छाड्ने बताइएपछि यसले झापामा तरंग नै ल्याएको छ । सिटौलाले यहाँ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाड्ने चर्चा भएको थियो । कांग्रेस झापाले निराधार हल्लाको पछि नलाग्न आग्रह गर्दै यो क्षेत्र कुनै हालतमा नछाड्ने भनेपछि राप्रपाले झापामा कांग्रेससँगको समिकरण नमान्ने अवस्था आउने स्रोतको भनाइ छ ।
सिटौला नउठ्ने चर्चा भएपछि नेपाली कांग्रेस झापाले यसलाई कपोकल्पित हल्ला भएको जनाउँदै सिटौला यहीबाट प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने बताएको छ । यसले गर्दा राप्रपासँगको तालमेल समेत संकटमा पर्ने बताइँदै आएको छ । तालमेलको बिषयमा केन्द्रमा छलफल हुँदा झापामा एउटा निर्वाचन क्षेत्र झापामा राप्रपालाई दिने र त्यो क्षेत्र नं. ३ हुने सहमति भएको राप्रपाका एक नेताले बताए । तर, सिटौला र नेपाली कांग्रेस झापाले यसलाई अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर