(सुनिरा मैनाली)
नयाँ नयाँ सूचनाको संकलन गर्ने, लेख्ने, सम्पादन गर्ने, प्रकाशन, प्रसारण गर्ने समग्र प्रकृया समेटिएको कार्य नै पत्रकारिता हो । जसले पत्रकारहरुको सिप र गुणलाई उजागर गरिरहेको हुन्छ । सञ्चार माध्यम मार्फत नै नयाँ सूचना वा सन्देशको प्रकाशन प्रसारण गर्दै चेतना, जानकारी, सन्देशको माध्यमबाट जागरण ल्यायने पेशा नै पत्रकारिता हो । सञ्चार क्षेत्रलाई आधुनिक युगको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली मानिन्छ ।
चुनौति र सम्भावनाले भरिएको क्षेत्र पत्रकारिता, त्यसमाथि पनि महिलाका लागि झनै चुनौतिपुर्ण रहेको छ । त्यो पनि नेपालमा महिला पत्रकारलाई अझ गाह्रो छ । पत्रकारितामा पारिश्रमिकदेखि लिएर सुरक्षासम्मका विषयले गर्दा पत्रकारितामा महिलाको उपस्थिति पुरुषको तुलनामा धेरै कमि छ । पत्रकारिता पेशा निक्कै चुनौतीपुर्ण छ । यो पेशा महिलाहरुका लागि मात्र होइन पुरुषका लागि पनि उत्तिकै चुनौतिपुर्ण छ । तर, पनि पत्रकारिता सुरु गरेदेखि हालसम्मका अनुभवहरुको आधारमा भन्ने हो भने महिला र पुरुषले सामना गनुपर्ने चुनौति पनि फरक–फरक छन् ।
एक जना पुरुष पत्रकारको आर्थिक र भौतिक असुरक्षा छ भने महिलाले यसको साथै सामाजिक असुरक्षाको समेत सामना गर्नुपर्ने बाध्यता रहेको छ । नेपालमा पत्रकारितामा राम्रै काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन् । भएका पनि रेडियोमा कार्यक्रम चलाउने कार्यक्रम प्रस्तोता मात्रै धेरै रहेका छन् । जसले गर्दा पत्रकारितामा महिलाहरु कम छन् र भएकाहरु प्नि लामो समय टिक्दैनन् ।
एउटा बिडम्वना के छ भने यहाँ विश्वासको समेत खडेरी लागेको छ । समाचारमा कामै नगरको भए पनि पुरुषलाई समाचार प्रमुखको जिम्मेवारी दिइन्छ तर, समाचारमै काम गरेको महिला भएपनि उसलाई समाचार प्रमुखको जिम्मेवारी दिन अलि कञ्जुस्याई गरिन्छ । हरेक क्षेत्रबाट महिला पत्रकार सक्षम भएपनि उनीहरुलाई स्थान दिइदैन । यहाँ सक्षम महिला पत्रकारको पनि कुनै–कुनै अवस्थामा पद नहुँदा कताकता आत्मआलोचना गर्न मन लाग्छ । कतिपय अवस्थामा अधिकार माग्ने महिलाहरुमा त्यति क्षमता नहोला तर, पनि कुनै पनि एक जना व्यक्तिले क्षमता नभई अधिकार माग्ने आँट गर्दैनन् । क्षमता भएर पनि जिम्मेवारी नदिइदा खल्लो महशुस हुने गरेको छ ।
वर्तमान समयमा पनि अधिकांश महिला पत्रकारहरु आफ्नो कार्यक्षेत्रका खुलेर लाग्न सक्ने अवस्था छैन । मिडियामा काम गर्ने समयका चुनौतिदेखि पारिश्रमिक सम्मका कुराहरुले गर्दा पत्रकारिता क्षेत्रमा महिलाहरु पुरुषको तुलनामा निक्कै पछाडी र कम छन् । हामी ठूलो आँट र जोस लिएर पत्रकारितामा प्रवेश गर्छौ तर पनि बिचमा आउने विविध समस्याहरुले गर्दा पत्रकारिताका क्षेत्रमा केही समय पश्चात नेै पेशा छोड्ने अवस्था सृजना भइदिन्छ । यो एकदमै बहसको विषय बनेको छ । हामी महिला पत्रकार भएको नाताले छुट्टै मान सम्मान खोजेका पनि हैनौ र छैनौ पनि, खोजेका त केवल आत्मासम्मान अनि पुरुष पत्रकार दाजुभाइ माझ समान रुपमा काम गर्ने वातावरण मात्र खोजेका हौं ।
झापाको मात्रै कुरा गर्ने हो भने नौ वटा दैनिक पत्रकिा, १६ वटा एफएम रेडियो, दुई वटा टेलिभिजन, १८ वटा अनलाइन, चार वटा मासिक म्यागेजिन र १९ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेका छन् । २६८ जना पत्रकार महासंघको सदस्य रहेका छन् । यो सहित तीन सयको हाराहारीमा पत्रकारको संख्या झापामा रहेको छ । राजधानी बाहिर बढी पत्रकार संख्या रहेको जिल्ला पनि सम्भवत झापा नै हो । तर, बिडम्वनाको कुरा रिपोटिङ्गमा हिड्ने अनि समाचार लेख्ने महिलाहरुको संख्या भने औंलामा गणना गर्न सकिने अवस्था छ ।
२५ वर्ष यताको तथ्यांक हेर्ने हो भने झापामा दर्जनबढी सञ्चार संस्था स्थापित भइसकेका छन् भने केही संख्यामा थपिइरहेका पनि छन् । यहाँको पत्रकारिता बृत्तमा पत्रकार भनेर चिनिएका धेरै (तीन सय हाराहारी ) मध्ये केही पत्रकार मात्र सक्रिय पत्रकारितामा रहेका छन् । भन्नु र गर्नु एउटै सिक्काका दुई पाटा हुन् भन्ने कुरा यहाँ पनि लागु हुने गरेको छ । पत्रकारितालाई आवाज विहिनहरुको आवाज पनि भन्ने गरिन्छ । तर, झापाली पत्रकारितामा तीन (प) अर्थात पैसा, पावर र पदका पछि दौडने प्रवृति हावि भएको छ । कुनै विपन्न तथा निमुखा वर्गको पिडा र समस्यालाई भन्दा ठूला प्रतिष्ठावाला मान्छेका कुरा यहाँ बिकिरहेका छन् । पछिल्लो समय इन्धन खर्च र मोवाइल रिचार्जसँग पनि समाचार साटिइरहेको देखिन्छ ।
झापामा थुप्रै सञ्चार माध्यमहरु सञ्चालित त छन् । तर, अझै पनि सञ्चार क्षेत्र भने सुरक्षित रहेको पाइन्दैन । नेपाली सञ्चार माध्यमहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारितागर्ने अवस्था नेपालि पत्रकारिताको लागि चुनौतिको विषय हो । केही समय अघि झापामा पत्रकार महिलाको संख्या आंैलामै गन्न सकिन्थ्यो । पछिल्लो समय बढ्दै गएका सञ्चारगृहले पत्रकार महिलाको संख्या पनि बढेको छ । खासगरी जिल्लाका विभिन्न ठाउँमा सञ्चालित रेडियोले झापाली पत्रकारितामा महिलाहरु पनि सक्रिय नै देखिन्छन् । कोही रहरले यस क्षेत्रमा प्रवेश गरेका छन् भने कोही शोखले प्रवेश गरेका छन् । रेडियो र टेलिभिजनमा महिलाहरु धेरै आकर्षक हुने गर्छन् । पत्रकारितामा महिला नआउने अनि आइहाले पनि रेडियोमा आर्कषित हुने गरेकाले पनि झापामा पत्रकार महिलाहरुको संख्या पुरुषको तुलनामा कम छ । पछिल्लो समयमा रेडियोमा बोल्नको लागि मात्र महिलाहरु मिडियामा प्रवेश भएको पाइन्छ ।
हामी दिनहु जसो समाजलाई लैगिक बिभेद रहित निर्माणका लागि निरन्तर लागिरहेका छौ । तर, हामी पत्रकारितामा बहस गर्छौ, पत्रकारितामा उपस्थिति न्युन भयो, क्षमतावान हुन सकेनौ आदि आदि विषयमा, तर हामी यो कुरा सोच्दैनौ कि पत्रकार महिलाहरुको क्षमता किन कम भयो त ? किन महिलाहरु पत्रकारितामा कम हुन्छन् ? पत्रकारितामा किन धेरै समय दिँदैनन् ? हामी बहस गरेर सकारात्मक अभियान चाल्नुको साटो पत्रकारितामा आएका महिलाहरुलाई उत्प्रेरणा दिने आँट सम्म पनि गर्दैनौ ।
राज्यको चौथो अंग मानिने पत्रकारिताका क्षेत्रमा महिला पत्रकारहरु पेशामा लागेको केहि समय पछि नै पलायन हुन्छन् । किन महिलमहरु पुरुषको तुलनामा दीर्घकालसम्म यस पेशामा रहन सक्दैनन् ? यो एक गम्भिर प्रश्न बनेर नेपाली पत्रकारिता क्षेत्रको वरिवरी घुमिरहेको छ । विडम्वना के छ भने रिपोटिङ्गमा पुरुष दाजुभाइहरुसँग हिँड्दा पनि समाजको नजरमा त्यो नकारात्मक भएर आइदिन्छ । यो विषयमा हामीले समाजलाई परिर्वतन गर्न जरुरी रहेको छ ।