[दिपेन लावती]
शान्तिनगर,

झापाको बुद्धशान्ति–४ स्थित नवज्योति सामुदायिक बन उपभोक्ता समुहले पर्यटन प्रबद्र्धनमा जोड दिएको छ ।
शनिबार समुहको कार्यालय परिषरमा आयोजित २१ औ बार्षिक साधारणसभामा आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट तथा निति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शेरबहादुर रायाले सामुदायिक बन परिषरमा रहेको चिलिमगडी डाँडालाई बैज्ञानिक ढंगबाट रमणीय पर्यटकिय स्थल बनाउन रु १ लाख बजेट बिनियोजन गरिएको बताए । सो स्थानलाई उजागर गर्न यसैबर्ष देखि आवश्यक पूर्वाधार बिकासको काम थालिने उनले बताए ।
बन संरक्षण र बनपैदावरमा उपभोक्तालाई सहज बनाउन चरिचरनमा रोक, चोरी–तस्करी नियन्त्रण गरी ‘हरियाली बन’ बनाउन बिभिन्न योजना तयार पारिएको समुहका सचिब रामप्यारी थेबेले बताईन् । यसका साथै शान्तिनगर क्षेत्रमा हात्तीको समस्या निराकरण गर्न बन क्षेत्र संग जोडिएको स्थानमा उपभोक्ताहरुको लगानी र जिल्ला बन कार्यालयको सहकार्यमा हात्ती गाउँ नपस्ने गरि नाली खन्ने काम सम्पन्न भएको समितिले जनाएको छ । नाली खनिए पछि जंगली हात्तीले गाउँ पसेर गर्ने मानवीय तथा भौतिक क्षतिमा कमी आएको स्थानीयहरु बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथी सामुदायिक बन महासंघ झापाका सचिब भवानी खतिवडाले बन संरक्षण र बिकासमा जोड दिए । उनले भने, ‘बन ऐन २०४९ अनुसार सामुदायिक बनको कुल आम्दामीको २५ प्रतिशत बन बिकास, ३५ प्रतिशत गरिबी न्युनिकरण र बाँकी ४० प्रतिशत प्रसासनिक र बिकास निर्माणको काममा खर्च गर्नुपर्छ ।’ सामुदायमा हस्तान्तरित बनले सरकारी नीति नियम मै चल्न सुझाब दिए ।
आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक लेखा प्रतिबेदन समुहका कोषाध्यक्ष डम्बर लावतीले प्रस्तुत गरे । कार्यक्रममा सामुदायिक बन बुद्धशान्ति गाउँपालिका अध्यक्ष तीलकराज रिजाल, समुहका पूर्व–अध्यक्ष बीरबहादुर बस्नेत लगायतले मन्तब्य राखेका थिए । २३३.८६ हेक्टर क्षेत्रफलमा फैलिएको बनमा १ हजार ५ सय उपभोक्ता आबद्ध रहेका छन् । समुहका उपाध्यक्ष मणीकुमार खेवाङले स्वागत गरेको कार्यक्रमको संचालन सचिब रामप्यारी थेबेले गरेकी थिईन् ।


