Aamsanchar

झापाको यान्त्रिक कार्यालय रुखका फेदमा

Author Image
आइतवार, कार्तिक २६, २०७४

काँकडभिट्टा,

झापाको बिर्तामोडमा दुई साताअघि सडक विभागको यान्त्रिक कार्यालयमा आन्दोलनकारीले आगजनी गरेपछि कार्यालयको दैनिक काम सञ्चालनमा कठिनाइ भएको छ ।

कार्यालयका सिनियर मेकानिक अरुणकुमार देवले कार्यालयका भवनलगायत सबै सामान आगजनीमा ध्वस्त भएपछि दैनिक काम सञ्चालनका लागि कोठा नहुँदा कर्मचारीले रुखको फेदमा टेबलकुर्सी राखेर कार्यालयको काम गर्न बाध्य भएको बताउनुभयो ।

यही कात्तिक १० गते आन्दोलनकारीले कार्यालय भवन र त्यहाँभित्र रहेका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारेका तथा कार्यालय परिसरमा पार्किङ गरिएका करोडौँ मूल्यका सवारी तथा यान्त्रिक उपकरणलगायत भौतिक सम्पत्तिमा क्षति पु¥याएका थिए ।

अर्जुनधारा– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्युको घटनामा प्रहरीले अनुसन्धानमा लापर्वाही गरेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आन्दोलन गर्दा उक्त आगजनी भएको हो । सिनियर मेकानिक देवले आगजनीमा रु दुई करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको जानकारी दिनुभयो ।

के के जले
कार्यालय भवनका चार कोठामा आगजनी हुँदा त्यहाँ रहेका तीन थान कम्प्युटर, एक थान प्रिन्टर, दुई थान दराज र १२ थान कुर्सीसहित सम्पूर्ण अभिलेख जलेर खरानी भएको छ । कार्यालय भवनमा रु १० लाखको सामान पूर्णरुपमा क्षति भएको मुचुल्का गरिएको कार्यालयले जनाएको छ । भवन नजिकै रहेको भण्डार कोठामा समेत आगजनी भएको थियो । त्यहाँ रहेका ग्यासका दुई सिलिण्डर आगजनीमा विष्फोट भएका थिए ।

भण्डार कोठामा रु चार लाखको क्षति भएको छ । कार्यालय परिसरमा पार्किङ गरेर राखिएका को १ ग नं को बिटुमिन डोजर, आरडी ०७०÷३२ नं को नयाँ जेसिभी डोजर, बा १ झ ९००७ नं को निसान पिकअप भ्यान, मे १ झ ६२ नं को मित्सुविसी पिकअप भ्यान, को १ ग ६८ नं को पानी ट्यांकर र मे १ द १२ नं को ट्यांकर आन्दोलनकारीले जलाएका छन् ।

आन्दोलनकारीले यान्त्रिक कार्यालयभित्र पस्नका लागि ६५ मि लामो पक्की पर्खाल ठेलेर भत्काएका थिए । आगजनी हुन थालेपछि कार्यालयका चौकीदार ज्यान जोगाउन भागेका थिए । बिटुमिन डोजर जलेर काम नलाग्ने भई रु २५ लाखको क्षति भएको बताइएको छ ।

यान्त्रिक कार्यालयले भर्खर दुई महिनाअघि मात्र खरिद गरेको जेसिभी डोजर पनि जलाइएको छ । यसबाट रु ३५ लाखको क्षति भएको छ । निसान पिकअप जल्दा रु ५० लाख र मित्सुबिसी भ्यान जल्दा रु ४० लाख बराबरको क्षति भएको छ । पानी टयांकरको पछाडिको यन्त्र मात्र जलाइएको हुँदा रु दुई लाख २५ हजार र ट्यांकरको रु सात लाख क्षति भएको बताइएको छ ।

ध्वस्त भयो बिटुमिन डोजर 

आन्दोलनकारीले जलाएको बिटुमिन डोजर पूर्वमै एक मात्र भएको यान्त्रिक कार्यालयले जनाएको छ । “मुलुकभरि तीन÷चारवटा मात्र होलान्”, देव भन्नुहुन्छ, “पूर्वाञ्चलमा एउटा मात्र यही एउटा बिटुमिन डोजर थियो ।”

नयाँ डोजर किन्न अहिलेको बजारभाउमा रु दुई करोड लाग्छ । जलेको डोजरको आगजनी बिमा पनि थिएन । निर्माण व्यवसायी गुणराज अधिकारीले मेचीनगरको दुहागढी खण्डमा निर्माणाधीन सडकमा कालोपत्रे गर्ने प्रयोजनका लागि सडक विभागको सो डोजर भाडामा ल्याएका थिए । डोजरमा आगो लगाइएपछि सो सडकको निर्माण रोकिएको छ । डोजरको अभावमा झापाका मात्र नभएर पूर्वाञ्चलका धेरै सडकको निर्माण अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)