Aamsanchar

‘ढुक्क भएर मतदान गर्नुस्, सुरक्षाको प्रबन्ध मिलाइएको छ’ : रक्षामन्त्री

Author Image
शनिवार, मंसिर ९, २०७४

काठमाडौँ, 

रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचनविरोधी गतिविधिमा चन्द समूहले बम आतंक मच्चाएको उल्लेख गर्नुहुँदै जनताको जीउधनको सुरक्षाका लागि सरकारले सबै प्रबन्ध मिलाएको बताउनुभयो ।

“निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्, निर्वाचन बिथोल्न खोज्ने समूहका नेतालाई सुरक्षा संयन्त्रले खोजी गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्” –उहाँले भन्नुभयो ।

संविधान ल्याउन चन्द समूहको पनि भूमिका भएकाले वार्ता गर्न चाहेमा चुनावपछि टेबलबाटै समस्या समाधान गर्न सकिने मन्त्री प्रधानको भनाइ थियो । भोलि आइतबार हुने निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उल्लेख गर्नुहुँदै उहाँले ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।

“ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, आफ्नो अमूल्य मत दिनुहोस्, मत हाल्दा विवेक प्रयोग गर्नुहोस्” –मन्त्री प्रधानले भन्नुभयो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार २४ सै घण्टा खटिरहेको उहाँले सुनाउनुभयो ।

निर्वाचन बिथोल्न चाहने तत्व दुई हजार संख्याको सूची बनेको जानकारी गराउनुहुँदै अहिलेसम्म करिब ५०० जनालाई गिरफ्तार गरिसकिएको मन्त्री प्रधानले बताउनुभयो ।

पहिलो चरणमा हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाको निर्वाचनमा २८ हजार ८२६ नेपाली सेना खटिने जानकारी पनि उहाँले दिनुभयो । दुवै निर्वाचनका लागि ६४ हजारभन्दा बढी सेना रक्षा मन्त्रालयले खटाउन लागेको छ । नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत निर्वाचनमा खटिँदै छन् । हवाई अनुगमन भैरहेकाले सुरक्षाको सम्पूर्ण व्यवस्था चुस्त रहेको उहाँको भनाइ थियो ।

सरकारले चारवटै सुरक्षा निकायका प्रमुखसँग यसअघि नै छलफल गरिसकेकाले त्यसैअनुसार योजना बनाइएको जनाएको छ ।

गणतन्त्रलाई संस्थागत गर्न काँग्रेसकै नेतृत्व आवश्यक

यसैबीच मन्त्री प्रधानले बहुलवादलाई शुरुदेखि नै राजनीतिक एजेण्डा बनाउँदै आएको नेपाली काँग्रेस संसदीय व्यवस्थामा विश्वास नगर्ने तत्कालीन नेकपा(माले) र सशस्त्र विद्रोहमा लागेको नेकपा(माओवादी) लाई संसदीय मूल धारमा ल्याउन सफल भएको र गणतन्त्रलाई संस्थागत गर्न पनि काँग्रेसकै नेतृत्व आवश्यक भएको बताउनुभयो ।

लोकतान्त्रिक बुद्धिजीवीहरुको भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सत्ता कब्जा गर्ने उद्देश्यका साथ एमाले र माओवादीबीच गठबन्धन भएको आरोप लगाउँदै उहाँले यसलाई नेपाली जनताले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पूरा हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री समेत रहनुभएका मन्त्री प्रधानले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति भएकाले निर्धक्कपूर्वक मतदाताले मतदान गर्न पाउने छन् भन्नुभयो ।
आजै काभे्रस्थलीमा आयोजित चुनावी कोणसभामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव तिमिल्सिनालगायत एमाले, राप्रपा पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएका नेता, कार्यकर्ताहरुलाई स्वागत गर्दै काठमाडौं क्षेत्र नं ६ का उमेदवारसमेत रहनुभएका मन्त्री प्रधानले निर्वाचनपछि पनि काँग्रेस नै पहिलो पार्टी बन्ने र यसले नै सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर