Aamsanchar

जरेबर संरक्षणमा जुटे स्थानीय

Author Image
बुधवार, फागुन ९, २०७४

[दिपेन लावती]

शान्तिनगर,

झापा बुद्धशान्ति गाउँपालिका–७ सुनमाई स्थित एतिहासिक जरेबर संरक्षणमा स्थानीय जुट्न थालेका छन् । स्थानीय जनप्रतिनीधि आएसंगै बिकासको कामले गति लिएपछि ओझेलमा रहेको जरेबरलाई पर्यटकिय क्षेत्र बनाउन स्थानीय कम्मर कसेर लागेका हुन् । आर्थिक बर्ष २०७४÷०७५ मा वडा कार्यालयबाट १ लाख छुट्टिएपछि जरेबर सम्म पुग्ने एक किलोमिटर बाटो स्तरउन्नती भएसंगै त्यहाँ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

करिब १५० फिट अग्लो भिरको डिलमा १२० बर्ष पुरानो जरेबर बर्षाको समयमा पहिरोले लैजाने संभावना बढ्ने संभावित जोखिम कम गर्न हाल डिल वरपर बृक्षारोपण गरिएको छ । उक्त स्थानमा सरसफाई, फुलबारी, सार्वजनिक शौचालय, खानेपानीको ब्यवस्था र जरेबर परिषर तारजाली गर्ने योजना रहेको ७ नम्बर वडाका वडाध्यक्ष मात्रिका प्रसाद पौडेलले बताए ।

उनले भने, ‘युवाहरु बढि यहाँ आउने गर्छन् । डेटिङ स्पोटको रुपमा परिचित यस ठाउँ ब्यवस्थित गर्ने सोचमा छौ ।’ समाज परिवर्तन र बिकृति बिसङगतिबाट मुक्त बनाई समाजको बिकास गर्न यस्ता ठाउँ ब्यवस्थित गर्नै पर्ने उनको भनाई छ । जरेबरलाई पर्यटकिय क्षेत्र बनाउन स्थानीय जुटिरहेका छन् । जरेबर परिषरमा स्काभेटर लगाएर जमीन सम्याउने काम सम्पन्न भएको छ ।

जरेबर संरक्षण र पिकनिक स्पोट बनाउन स्थानीय ३ जनाले जोतभोग गर्दै गरेको ४ कट्ठा जग्गा समेत दान गरेका छन् । स्थानीय दधिराम काफ्लेले २, दिनानाथ अर्यालले १ र मीना लिम्बुले १ कट्ठा जग्गा उपलब्ध गराएका हुन् । केही दिन अघि गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल लगायतको टोलीले सो क्षेत्रको अवलोकन भ्रमण पनि गरेका थिए ।

जरेबर संरक्षण र पर्यटकिय क्षेत्र बनाउन स्थानीय समाजसेबी राजु आचार्यको अध्यक्षतामा ७ सदस्सिय जरेबर संरक्षण समिति गठन गरिएको छ । समितिको सचिब इन्द्रप्रसाद निरौला र कोषाध्यक्षमा सिता अधिकारी रहेका छन् । अन्य सदस्यहरुमा गोबिन्द चाँपागाई, हरिमाया कटुवाल, भारती आचर्य र दुर्गा काफ्ले रहेका छन् । त्यस्तै ३ सदस्सिय अनुगमन समिति समेत गठन गरिएको छ । सो अनुगमन समितिमा दधिराम काफ्ले, दिनानाथ अर्याल र मीना लिम्बु रहेकी छिन् ।

Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर