
काठमाडौं –संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । ‘सामान्य’ उपचारपश्चात् उनीहरू डिस्चार्ज भएका अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
सातमध्ये एक नेपालीको उपचार जारी छ । उनी यसअघि गम्भीर घाइते भएका भनिए पनि ‘खतरामुक्त’ रहेका दूतावासले जनाएको छ ।

“…गम्भीर घाइते हुनुभएका भनिएका व्यक्ति अस्पतालमा उपचार गराइरहनुभएको तर उहाँ पनि पूर्ण खतारामुक्त रहनुभएको र छिट्टै डिस्चार्ज हुने बताउनुभएको व्यहोरा जानकारी गराइन्छ,” दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अधिकारीले सबै घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । टेलिफोन र चार घाइतेसित प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको दूतावासले जनाएको छ ।
“दूतावासले आवश्यक सहयोग र समन्वयका लागि निरन्तर कार्य गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ, “यूएई सरकारद्वारा उहाँहरूको आवश्यक स्वास्थ्य उपचार भइरहेको व्यहोरा समेत जनाकारी गराइन्छ ।”
दूतावासले यूएई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मार्गदर्शन तथा सूचनाको पूर्ण रूपमा पालना गर्न आग्रह समेत गरेको छ ।
“अहिले मध्यपूर्वमा विकसित परिस्थितिको सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरूलाई यूएई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मार्गदर्शन तथा सूचनाहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “साथै, आधिकारिक स्रोतबाट प्रकाशित सूचनाहरू मात्र विश्वास गर्न र त्यसैअनुसार सचेत रहन पनि सबैमा अनुरोध छ ।”
शुक्रबार (अपिल ३) अजबन क्षेत्रमा उक्त घटना भएको हो । घटनामा पाँच भारतीय पनि घाइते भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।


