

दुर्गापुर, फागुन १२। झापाको कनकाई नगरपालिका–१स्थित आगलागी पीडित परिवारलाई वीरता जेसीज बिर्तामोड र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले शनिवार राहत सामग्री प्रदान गरेका छन् ।
आगलागी पीडित लक्ष्मी गिरीको निवास स्थलमै पुगेर जेसीज र रेडक्रसको टोलीले २५ हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेका हुन् । केही दिन अघि भएको आगलागीमा गिरीको घर पूर्ण रुपमा क्षति भएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीले पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा रेडक्रसका सभापति सजेश शिवाकोटी, कनकाई–१ का वडाध्यक्ष रोशनराज पोखरेल, विवेकशील साझा पार्टीका सन्तोष घिमिरेले अन्य क्षेत्रबाट पनि राहत जुटाउन पहल गर्ने बताए ।
राहत दिएर पीडित परिवारको चर्याईरहेको घाउमा मल्हमपट्टी गरेको भन्दै स्थानीय अग्रज मानबहादुर गिरीले धन्यवाद ज्ञापन गरे ।
Views: 308

