Aamsanchar

उत्पादन बढाउन माटो परीक्षण शिविर

Author Image
आइतवार, फागुन १३, २०७४

पर्वत,

माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।

पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले माटो परीक्षण गर्न थालेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

नगरपालिका अन्तर्गतका ११ वटै वडामा खेती गरिँदै आएको ७० भन्दा बढी ठाउँको माटो प्रत्येक वडाको केन्द्रमा ल्याई माटो विशेषज्ञबाट माटो परीक्षण गरिन थालिएको छ । निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो नीति ल्याएको उहाँले बताउनुभयो ।

दिगो कृषि उत्पादनका लागि नगर क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास गरिने नगर उपप्रमुख मञ्जु अधिकारीले बताउनुभयो । माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटोमा अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गरिने छ ।

परीक्षणका क्रममा माटोमा अम्लियपन निकै बढ्दै गएको पाइएको माटो विज्ञ टुकबहादुर थापाले बताउनुभयो । माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमी हुँदा माटोको सूक्ष्म तत्वसमेत नाश हुँदै जान थालेको उहाँले बताउनुभयो । माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्यपदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान थालेको हो । माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न उहाँले सुझाव दिनुभएको छ ।

Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर