किशोरावस्थाको यौन सम्बन्धले विभिन्न रोग निम्त्याउन सक्छ
‘बिहेवारी बीस वर्ष पारि ।’
शारीरिक तथा मानसिकरूपमा २० वर्षपछि मात्र युवायुवती बिहेका लागि योग्य हुन्छन् । तर, अहिलेको परिदृश्य फरक छ । उमेर नपुग्दै बिहे गर्ने र आमा बन्ने क्रम बढ्दो छ । जसका कारण उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखा पर्ने गरेको छ ।
प्रकरण -एक आफू चिकित्सकको रूपमा खटिइरहँदा मैले यस्ता अनेकौं घटनाको साक्षी बन्नुपरेको छ ।
मोरङ ग्रामस्थान घर भएकी गीता खवास अस्पताल आएकी थिइन् । उनलाई पिसाबको संक्रमण भएको रहेछ । उनले आफू विवाहित भएको बताइन् । उनको उमेर थियो, १७ वर्ष ।
उमेर नपुग्दै विवाह गर्दाको नतिजा थियो, पिसाबको संक्रमण । हुन त अरूलाई पनि यस्तो समस्या हुन सक्छ । तर, कच्चा उमेरमा बिहे गर्ने अपरिपक्व आमाबुबा यस किसिमको यौनजन्य संक्रमणको शिकार हुने गर्छन् ।
प्रकरण – २
अनिताको कथा पनि यस्तै छ । उनको सानैमा विहे भयो ।
‘पढाइमा खासै मन गरिनन्, राम्रो ठाउँबाट कुरा आयो । छोरीको जात पठाउनै पर्ने, त्यही भएर बिहे गरिदिएँ’ १६ बषर्ीया अनिताका पिता रामेश्वरले भने ।
सानैमा आमा गुमाएकी अनितालाई महिनावारीका बारेमा समेत राम्रो ज्ञान नरहेको पाइयो । महिनावारी अनियमित भएकाले अस्पताल ल्याइएकी अनिता श्रीमान्सँग आˆनो समस्याबारे कुरा गर्न पनि लाज र डर मान्छिन् ।
विवाह, श्रीमानसँगको सम्बन्ध र परिवारका बारेमा राम्ररी बुझ्न नपाउँदै वैवाहिक बन्धनमा धकेलेर के पाउनुभयो ? जस्ता प्रश्नको उत्तरमा अनिता केही बोलीनन् । बरु उनका श्रीमान् रामेश्वरले भने, ‘विस्तारै थाहा पाइहाल्छे नि ।’
प्रकरण-३
१८ वर्षीया सुनिता लिम्बु पनि विवाहित छिन् । भोजपुरकी सुनिताको विवाह उनका अभिभावकले गरिदिएका होइनन् । सुनिता भोजपुरमा एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षाका लागि बिराटनगर आएकी थिइन् । सानिमाको घरमा बसेर क्याम्पस पढ्न थालेकी सुनिताले ११ कक्षामा अध्ययन गर्दागर्दै १७ वर्षको उमेरमा प्रेम विवाह गरिन् ।
१५ वर्षमै यौन सम्पर्क
किशोरअवस्थामा विवाह गर्ने र यौनजन्य समस्यासँग जुध्नेहरूको सूची कहालीलाग्दो छ ।
‘डेमोग्राफी एन्ड हेल्थ सर्भे-२०११’ ले प्रकाशन गरेको तथ्यांक अनुसार विश्वभर औसत महिलाको विवाह १७ दशमलव ५ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको छ । अहिले यसमा केही सुधार आएको छ ।
पछिल्लो ‘डेमोग्राफी एन्ड हेल्थ सर्भे-२०१६’को तथ्यांकअनुसार औसत महिलाको विवाह गर्ने उमेर १७ दशमलव ९ वर्ष छ भने ५२ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको छ । ११ प्रतिशत किशोरीले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क गरिसकेका हुन्छन् ।
असुरक्षित दाम्पत्य
कम उमेरमा विवाह गर्दा पढाइ बिग्रने वा क्यारियर छताछुल्ल हुने मात्र हैन, पारिवारिक झमेला सुरु हुन्छ । यसबाट अध्ययन र बौद्धिक विकास रोकिन्छ अनि आर्थिक समस्याले घेरा हाल्न थाल्छन् ।
आर्थिक, समाजिक समस्याहरूले गर्दा किशोरीले आˆना प्रगति, सपना अनि रहरहरूलाई निमोठ्नुपर्ने त हुन्छ नै स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्छ ।
नेपाली समाजमा बिहेसँगै बच्चा जोडिएको हुन्छ । कम उमेरमा विवाह गर्दा बच्चा पनि चाँडै हुन्छ । विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले प्रकाशन गरेको सन् २०१४ को तथ्यांक अनुसार एक करोड साठी लाख किशोरी (१५ देखि १९ वर्षका) वर्षेनी गर्भवती हुने गरेका छन् । यसैगरी १० लाख किशोरी १५ वर्षमै आमा बन्ने गर्छन् ।
यी गर्भवतीमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकहरूका हुने गरेको छ । सोही तथ्यांकले १५ देखि १९ वर्षका किशोरीमा मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव नै रहने गरेको देखाएको छ । करिब ३० लाख किशोरीले वर्षेनी असुरक्षित गर्भपतन गराउने गरेको तथ्य पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
कम उमेरमा विवाह गर्दा बौद्धिक परिपक्वता आएको हुँदैन भने उचित निर्णय लिन सक्ने क्षमताको विकास पनि भएको हुँदैन । त्यसैले यस्ता दम्पती धेरै बच्चा पाउँछन् र जन्मान्तर कम हुन्छ । यस्ता महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने समस्या बढी देखिएको पाइन्छ ।
अनलाईन खवरवाट साभार