Aamsanchar

संखुवासभामा ब्लड बैंक नहुँदा समस्या

Author Image
शुक्रवार, वैशाख ७, २०७५

संखुवासभा,

पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।

जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

जिल्लामा नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यहाँ ब्लड गु्रप छुट््याउने काम मात्र हुने गरेको छ । गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ ।

गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् । बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रक्तसञ्चार भवन र आधुनिक उपकरणका लागि तीन वर्षअघि नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कार्यालयमार्फत अनुरोधपत्र पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोजकुमार बज्राचार्यले बताउनुभयो ।

आधुनिक उपकरण र ब्लड बैंक नभएपछि ब्लड संकलन गरेर राख्न नसकेको अध्याक्ष बज्राचार्यले बताउनुभयो । ब्लड बैंक स्थापनाका लागि जिल्लाका सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने अध्यक्ष बज्राचार्यको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर