Aamsanchar

कनकाईमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

Author Image
बिहिवार, वैशाख १३, २०७५

सुरुङ्गा।

कनकाई नगरपालिकाको आयोजनामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको छ । हरेक वार्डमा चार वा पाँच ठाउँमा प्रयोगशाला केन्द्र स्थापना गरी घुम्ती टोली मार्फत नगरभित्रका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

लोकतन्त्र दिवसको अवसरमा कनकाई–१ स्थित दुर्गापुर उत्तर दुर्गा मन्दिरमा सम्पन्न पहिलो दिनको परीक्षण कार्यक्रम एकसय वर्षीया रेनुदेवी पोखरेलको परीक्षण गरी शुरु गरिएको थियो । यो कार्यक्रम एक महिनाभन्दा बढी समयसम्म सञ्चालन हुने बताइएको छ ।

कनकाई नगरपालिकाभित्र दुई हजार एक सय जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक रहेको तथ्यांक छ । वार्ड कार्यालयको संयोजनमा वडाध्यक्ष, वडा सदस्यहरुको सक्रियतामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका स्वास्थ्यकर्मी दीपक लम्जेलको नेतृत्वको टोली र काठमाडांैबाट आएको शंकर केसीको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको छ ।

हरेक वडाको तोकिएको ठाउँमा प्रयोगशाला स्थापना गरी सेवा दिने र अति अशक्त ज्येष्ठ नागरिकलाई घरैमा गएर सेवा दिने नगरपालिकाले जनाएको छ । प्रयोगशालामा रगतको मात्रा, चिनी रोग, युरिक एसिड, मृगौला परीक्षण, बोसोको मात्रा र टिजीको परीक्षण गरिने बताइएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कार्यक्रमको उद्घाटनन गर्दै ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर रहेको र सीमित स्रोतसाधनका बाबजुद उनीहरुको स्वास्थ्य परीक्षण र उपचार गर्न नगरपालिकाले प्रयत्नशील रहेको बताए ।

उद्घाटन कार्यक्रममा उपमेयर मञ्जु प्रसाई, प्रशासकीय अधिकृत देवेन्द्र कार्की लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर