Aamsanchar

ठूलो नेते खोलामा पुल नहुँदा समस्या

Author Image
बिहिवार, असार २१, २०७५

अर्जुनधारा ।

सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका स्थानीय वासिन्दाहरु वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाँउपालिका र सूर्योदय नगरपालिकाका केही वडा गरी अनुमानित १५ सय घरधुरीका परिवार प्रत्यक्ष प्रभावित हुने सो खोलामा पुल निर्माण हुन अतिआवश्यक रहेको स्थानीयहरु बताउँछन् ।

वर्षाको समयमा समस्या आउँदा पुल निर्माणको कुरा हुन्छ वर्षा सकिन्छ कुरा पनि सकिन्छ– स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अम्बरबहादुर सुवेदी भन्छन् ।

सो खोलामा पुल नहुँदा दैनिक सञ्चालन हुने यातायातका साधनहरु, विद्यालय आउने विद्यार्थीहरु, बिरामी लिएर आउने एम्बुलेन्स, दैनिक आवतजावत गर्ने स्थानीयहरुलाई समस्या हुने गरेको उपाध्यक्ष सुवेदीले बताए । त्यसैगरी रोङ गाँउपालिका–२स्थित बर्फल्याङ निवासी जगतनिधि घिमिरे गतवर्षको बाढीमा आफू मोटरसाइकलसहित करिब ५० मिटर बगेको बताउँदै सो खोलामा पक्की पुल आवश्यक भएको सुझाउँछन् ।

कृषि सडक अन्तर्गत पर्ने सो खोलाको पुल निर्माण भए सबै समयमा कृषिजन्य सामग्रीहरु ल्याउन पनि सहज हुने हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका सचिव रंगलाल मिश्रले बताए । पुल निर्माण गर्ने विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा रोङ गाँउपालिका र नगरपालिकाको सहकार्यमा आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा पुल निर्माण गर्ने जानकारी दिए । पुल निर्माण ईस्टीमेट भने गर्न बाँकी रहेको प्रमुख रानाले बताए ।

यता रोङ गाँउपालिकाका अध्यक्ष शम्सेर राईले अनुमानित दुईदेखि तीन करोड रुपैयाँ पुल निर्माणमा लाग्ने ठूलो लगानी स्थानीय तहले मात्र जुटाउन नसक्ने हुँदा दुवै तहको प्राथमिकतामा राखी प्रदेश र संघमा योजना पठाउने बताए ।

फड्के निर्माण हुँदै

स्थानीय हलुवागढ, अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह र रोङ गाँउपालिका–२स्थित बर्फल्याङ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा १५० फिट लामो फड्के निर्माण कार्य भइरहेको छ ।

वर्षाको समयमा स्थानीयहरु, दुई पाङ्ग्रे सवारी साधनलाई आवातजावत सहज होस् भन्ने उद्देश्यले समूहहरुको संयुक्त पहलमा चार लाख रुपैयाँको लगानीमा फड्के निर्माण भइरहेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका सचिव मिश्रले जानकारी दिए । त्यसैगरी फड्केको दुवै भागमा आवश्यक जाली वडा समितिले उपलब्ध गराउने अर्जुनधारा–१ वडा समितिका सदस्य माधव आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर