बिर्तामोड।
मोरङको पथरी, शनिश्चरेकी ४२ वर्षीया अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीलाई विश्वको प्रथम महिला जगत्गुरु शंकराचार्यको उपाधि प्रदान गरिएको छ । भारत धर्ममहामण्डल, काशी विद्वत परिषद् र वल्र्ड हिन्दू फेडेरेशनले १२०० वर्षको इतिहासमा पहिलोपटक एक महिला साध्वी नेपाली चेली हेमानन्द गिरी नेपाली नारीलाई उक्त उपाधि प्रदान गरेको हो ।
शंकराचार्यको नियुक्ति वैदिक सनातन हिन्दुत्वको केन्द्र संस्थाहरु भारत धर्म महामण्डल एवम् काशी विद्वत परिषद्ले गर्ने गर्दछ । भारत धर्म महामण्डलले आफ्नो संविधानका रुपमा आदिगुरु शंकराचार्यले लेखेको ‘महानुशासन’ नामक ग्रन्थलाई लिएको छ ।
महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंकराचार्य हुनका लागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद भए पनि अहिले वैदिक सनातन संस्कारको १२०० वर्षको इतिहासमा नेपालकी महामण्डलेश्वर स्वामी हेमानन्द गिरीलाई विश्वको प्रथम महिला जगत्गुरु शंकराचार्यको उपाधि प्रदान गरिएको हो ।
विभिन्न धर्महरुमा महत्वपूर्ण पद मानिएको शंकराचार्यमा पुरुषहरुलाई मात्रै चयन गरिएकोमा यसवर्ष विश्वमै पहिलोपटक नेपाली नारीलाई जगत्गुरु शंकराचार्यको उपाधि प्रदान गरिएको हो ।
झापा गौरीगञ्जमा रहेको वैजेश्वर सूर्य शिवालय मठकी महामण्डलेश्वर, हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छिन् । आठौं शताब्दिमा आदि शंकराचार्यले आध्यात्म अनि दर्शनका माध्यमले हजारौं कोशसम्म आदि वेदान्तको धार चलाएका हुन् ।
उनलाई भगवान शिवको पुनर्जन्म अनि वैदिक सनातन संस्कारका एक अध्यात्मिक योद्धाका रुपमा चिनिन्छ । उनैले हिन्दू दर्शनका लागि चारवटा सर्वोच्च पदहरु सृजना गरेका हुन् । जसमा १२०० वर्षदेखि पुरुष साधक अनि विद्वानहरुकै उपस्थिति रहेको थियो । विश्वको प्रथम महिला जगत्गुरु शंकराचार्यको उपाधि प्रदान गरिएकोमा गिरीले बाल्यकालदेखि नै अध्यात्मप्रतिको लगावकै कारण आफू यहाँसम्म आइपुगेको बताएकी छिन् ।
लामो आध्यात्मिक यात्रा र तपकै कारण दुई वर्षअघि उज्जैनमा महामण्डलेश्वरको पदवी दिइएको बताउँदै गिरीले महामण्डलेश्वरको पदवीलाई लाखौं संन्यासीको सेनापतिका रूपमा लिन सकिने बताइन् । उनले भनिन् – यो आचार्य पद हो, गुरु पद हो र यसलाई लाखौं नागा सन्यासीको सेनापतिका रूपमा लिन सकिन्छ ।
आध्यात्म, वाकशक्ति, नेतृत्व विकास, संरक्षणको क्षमता, आध्यात्मलाई विस्तार गर्न सक्ने क्षमता एवम् विभिन्न क्रियाकलापलाई हेरेर मूल्यांकन गरी उच्च समितिबाट यो पदवी प्रदान गरिन्छ ।’ लामो समय आध्यात्मिक गतिविधिमा बिताएकी उनले भारत तथा नेपालका हरेक क्षेत्रका तीर्थको भ्रमण गरेकी छिन् ।
यसैबीच नेपालकै पहिलो शंकाराचार्य पीठ साधुटारले जगद्गुरुको उपाधि पाएकोमा पहिलोपटक गिरीलाई अभिनन्दन गर्ने भएको छ । आगामी असार ३२ गते शंकराचार्य पीठ साधुटारमा निर्माण गरिएको सिद्धिविनायक गणेश मन्दिरको अनावरण गर्न गिरी आउने र त्यही कार्यक्रममा उनलाई अभिनन्दन गरिने शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
उक्त मन्दिर दमक–४ निवासी लक्ष्मण–धनमाया श्रेष्ठ र उनीहरुका छोराबुहारी किरण–सृजना श्रेष्ठले आफ्नो नाति एवम् छोरा प्रज्ज्वल श्रेष्ठको नाममा एक लाख १० हजार रुपैयाँको लागतमा निर्माण गरेको व्यासाचार्य खतिवडाले बताए । त्यस्तै आगामी साउनको सोमवार पूर्वकै पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा विशेष पूजा अर्चना तथा जलार्पण कार्यक्रममा समेत गिरी आउने धाम समितिका सदस्य भानु शिवाकोटीले जानकारी दिए ।
को हुन् हेमानन्द ?
अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीजी महाराजको जन्म २०३२ सालमा वीरगञ्जमा भएको हो । उनको स्थायी घर भने मोरङको पथरी–शनिश्चरे नगरपालिका हो ।
बाल्यकालदेखि नै आध्यात्मिक क्षेत्रमा लागीपरेकी गिरीले मोरङको उर्लाबारी बहुमुखी क्याम्पसबाट आईए अध्ययन गरी भारतको हरिद्वारबाट ‘आचार्य’ गरेकी छिन् । आचार्य गुरु पद हो, जुन पद प्राप्त गर्ने उनी नेपालकै एक मात्र महिला हुन् ।
पूर्वी नेपालकै गौरीगञ्जस्थित वैदिक सूर्य शिवालयपीठकी महामण्डलेश्वर अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीजीको वास्तविक नाम हेमा ढुंगाना हो ।
के हो शंकराचार्य पद ?
शंकराचार्य अद्वैत परम्पराको मठको मुखियाका लागि प्रयोग गरिने उपाधि हो । शंकराचार्य हिन्दू धर्मको सर्वोच्च धर्मगुरुको पद भएको विकिपेडियामा उल्लेख छ, जुन बौद्ध धर्ममा दलाई लामा, इसाई धर्मका पोपजस्तै उच्च पद हो ।
यो पदको परम्पराको थालनी आदि गुरु शंकराचार्यले गरेका थिए । यो उपाधि आदि शंकराचार्य जो एक हिन्दू दार्शनिक एवम् धर्मगुरु थिए, साथै जसलाई हिन्दूत्वका महान प्रतिनिधिका रूपमा चिनिन्छ, उनकै नाममा रहेको छ ।
आदि शंकराचार्यलाई जगत्गुरुका रूपमा पनि सम्मान गरिन्छ, जुन सम्मान त्यसअघि भगवान् कृष्णलाई मात्र प्राप्त थियो । आदि शंकराचार्यले सनातन धर्मको प्रतिष्ठाका लागि भारतको चार क्षेत्रमा चार मठ स्थापित गर्नुका साथै ती मठमा चारवटा शंकराचार्य पद सिर्जना गरे अनि आफ्ना उत्कृष्ट शिष्यहरूलाई ती मठको प्रमुख बनाए । त्यतिबेलादेखि नै यी चार मठमा शंकराचार्य पदको परम्परा चल्दै आएको छ ।
मठको कथा
प्राचीन भारतीय सनातन परम्परा र हिन्दू धर्मको प्रचारप्रसारमा आदि शंकराचार्यको महान योगदान छ । उनले भरतीय परम्परा र हिन्दू धर्मलाई सिंगो देशमा फैलाउन भारतका चार कुनामा चार शंकराचार्य मठ स्थापना गरेको बताइन्छ ।
इसापूर्वको आठौं शताब्दीमा स्थापना गरिएका यी चार मठको नेतृत्व अहिले पनि चारवटा शंकराचार्यले गर्ने व्यवस्था छ । ती शंकराचार्यले सनातन परम्पराको प्रचारप्रसारको नेतृत्वसमेत गर्छन् ।
यी मठलाई गुरु–शिष्य परम्पराको केन्द्रका रूपमा समेत लिइन्छ । पूरै भारतमा सबै संन्यासी अलग–अलग मठसँग जोडिएका हुन्छन् । यी मठमा शिष्यहरूलाई सन्यासको दीक्षा दिइन्छ । संन्यास लिएर दीक्षित भएसँगै उनलाई एउटा विशेषण दिइन्छ, जसबाट यो थाहा हुन्छ कि यो संन्यासी कुन मठको हो र उसले वेदको कुन परम्परालाई निर्वाह गर्छ ।
सबै मठ अलग–अलग वेदका प्रचारक हुन् र यिनीहरूको एउटा महावाक्य हुन्छ । मठहरूलाई पीठ पनि भनिन्छ । चार मठका मठाधीशलाई शंकराचार्य भनिन्छ र उनीहरूले आफ्नो जीवनका सबैभन्दा योग्य शिष्यलाई मठाधीश बनाउँछन् ।
चार मठ
श्रृंगेरी मठ : यो मठ दक्षिण भारतको रामेश्वरममा छ । श्रृंगेरी मठको मातहतमा रही दीक्षा लिने संन्यासीको नाममा सरस्वती, भारती, पुरी विशेषण लगाइन्छ ।
गोवद्र्धन मठ : गोवद्र्धन मठ उडिसा राज्यको पुरीमा पर्छ । गोवद्र्धन मठबाट दीक्षा लिने संन्यासीको नाम पछाडि आरण्य विशेषण लगाइन्छ ।
शारदा मठ : शारदा (कालिका) मठ गुजरातको द्वारिकाधाममा अवस्थित छ । यसबाट दीक्षा लिने सन्यासीको नाममा तीर्थ र आश्रम विशेषण लगाइन्छ ।
ज्योर्तिमठ : ज्योर्तिमठ उत्तराखण्डको बद्रीनाथमा छ । ज्योर्तिमठबाट दीक्षा लिने संन्यासीको नामका पछाडि गिरि, पर्वत र सागर विशेषण जोडिन्छ ।