Aamsanchar

यो कस्तो विडम्बना : बुहारी माग्छिन् मानाचामल, सासूससुरा माग्छन् अंश

Author Image
मङ्गलवार, साउन २२, २०७५

अमित खम्बू

अर्जुनधारा।

बुहारीले आफूहरुविरुद्ध मानाचामलको मुद्दा लगाएको भन्दै झापा अर्जुनधारा–९ देवर्षि टोल निवासी कार्की दम्पत्तिले बुहारीविरुद्ध अंश मुद्दा दर्ता गरेको रहस्य खुलेको छ ।

बुहारी नेहा कार्कीले अंश नपाउञ्जेलसम्मका लागि जिल्ला अदालत झापामा मानाचामलको मुद्दा दर्ता गरेपछि बुहारीबिरुद्ध अमरबहादुरले पनि अंश मुद्दा दर्ता गरेसँगै यस्तो रहस्य खुलेको हो । बुहारी नेहाले दुई वर्ष अघि वैदेशिक रोजगारीमा कतार गएका श्रीमान् पूर्णबहादुर कार्कीसहित परिवारका अन्य सदस्यहरुले आफू र छोरा निर्भिकलाई बेवास्ता गरेपछि बाध्य भई मुद्दा दर्ता गरेको बताएकी छिन् । उनले छ महिना अघि मात्र जिल्ला अदालत झापामा मानाचामलको मुद्दा दर्ता गरेको बताइन् ।

यता सासु कमलादेवी र ससुरा अमरबहादुर कार्कीले भने २० दिन अघि उनीविरुद्ध अंश मुद्दा दर्ता गरेको बुहारी नेहाले बताइन् । उनी भन्छिन्– मैले कुनैपनि अंश भरपाईमा सही गरेको छैन, तर सही देखिएमा त्यो किर्ते गरिएको हुनुपर्छ । मेरा नाममा अंश नभएको अवस्थामा मैले कसरी सासूससुरालाई अंश दिनु ?– उनले प्रतिप्रश्न गरिन् ।

यता ससुरा अमरबहादुर भने छोराबुहारीले पहिले नै अंश लिएर छुट्टिएर बसेको बताएका छन् । कानूनमा अंशका लागि सासूससुराले पनि बुहारीबिरुद्ध मुद्दा दर्ता गर्ने व्यवस्था भएको एक कानून व्यवसायी बताउँछन् ।

कसरी आयो सम्बन्धमा तीतोपन ?
कार्की दम्पत्तीको एक मात्र छोरा पूर्णबहादुरसँग उर्लाबारी–५ निवासी नेहाको २०७० साल जेठ २० गते मागी विवाह भएको हो । विवाह भएको केही महिनामा आफ्ना श्रीमान्मा केही परिवर्तन भएको भन्दै नेहाले भनिन्– श्रीमानले आफू माथि शंका गर्ने, सासूससुरा छोराबुहारीसँगै हुँदा नबोल्ने, घरको विषयमा सल्लाह सुझाव राख्दा श्रीमान्ले बेवास्ता गर्ने गर्थे ।’
आफू नहुँदा छोरासँग राम्रोसँग बोल्ने सासूससुरा छोरा कतार गएपछि बुहारी र नातिलाई बेवास्ता गर्ने गरेको उनले बताइन् । श्रीमान्ले पनि आफूलाई फोन सम्पर्क नगर्ने, आवश्यक पैसा नपठाउने तर आफ्नो आमाबुबासँग नियमित फोन सम्पर्क गर्ने, उनीहरुलाई पैसा पठाउने गरेपछि आफूले सामाजिक भेलाको सल्लाह बमोजिम माइतीघरमा बस्ने निर्णय गरेको उनी बताउँछिन् । माइतीघरमै बसे पनि चाडपर्वमा घर आउँदा सासूससुराले घरमा आउने अधिकार नभएको र कहाँ गएर मुद्दा लगाउने लगाउनु भने पछि आफूले मानाचामलको मुद्दा लगाएको उनले बताइन् ।

सम्बन्ध सुधार्न के–के प्रयास भयो ?
सम्बन्ध सुधार्न धेरै पटक सामाजिक भेलासँगै अर्जुनधारा नगरपालिका अन्तर्गतको न्यायिक समितिमा पनि निवेदन दिइएको बुहारी नेहाले बताइन् । सामाजिक भेलाबाट निकास नआएपछि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसहितको उपस्थितिमा समितिले समस्या समाधान गर्न प्रयास गर्दा कार्की दम्पत्ति इजलासको बीचमै छोडेर गएको न्यायिक समितिका सदस्य टुम्मनाथ काफ्लेले बताए ।

बुहारी नेहाले लगिन् दाइजोमा ल्याएको सामग्री ?
घरपरिवारसँगको सम्बन्धमा कुनै सुधार नआएपछि सोमबार नेहाले दाइजोमा ल्याएको सामग्री फिर्ता लगेकी छिन् ।
आफ्नो चार वर्षीय छोरा निर्भिकसहित आएकी उनले आफ्नी सासू कमलादेवी, जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, समाज र सरोकारवालाहरु सबैको उपस्थितिमा घरको गेट र कोठामा सासूससुराले लगाएको ताला आफैंले तोडेर उक्त सामग्रीहरु लगेको अर्जुनधारा–९का वडाध्यक्ष पुष्पकुमार प्रसाईंले जानकारी दिए । जनप्रतिनिधिहरु र प्रहरी प्रशासनबाहेक स्थानीय समाजलाई साक्षी राखी लगिएको उक्त सामग्रीहरुको सूचीसहितको निवेदनको एक–एक प्रति अर्जुनधारा नगरपालिकाको कार्यालय, वडा कार्यालय र बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाउने जानकारी आफूले पाएको वडाध्यक्ष प्रसाईंले बताए ।
अर्जुनधारा न्यायिक समितिका सदस्य काफ्लेको अनुसार मुलुकी ऐनमै स्त्रीको सम्पत्तिमा कसैको अधिकार नहुने हुँदा बुहारीले दाइजो फिर्ता लानु सही भएको स्थानीयवासीहरु बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर