Aamsanchar

४ लेनको बन्ने भो पुर्वपश्चिम राजमार्ग , यसरी काम शुरु हुने

Author Image
बिहिवार, साउन २४, २०७५

सरकारले पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ । राजा महेन्द्रको शासनकालमा निर्माण भएको एक हजार किलोमिटर लामो दुई लेनको राजमार्गमा सवारीको चाप र दुर्घटना जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको हो।
दातृ निकायको सहयोगमा पूर्व–पश्चिम जोड्ने एक हजार ५० किलोमिटरको महेन्द्र राजमार्ग चार लेन बनाउन लागिएको हो । पहाडी भूभागमा दुई लेन र अन्य सम्भव भएका सबै स्थानमा चार लेन बनाउने तयारी भइरहेकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा यो राजमार्गलाई आवश्यकताअनुसार सर्भिस लेनसहित चार लेनमा विस्तार गर्न लागिएको हो ।

राजमार्ग विस्तार गर्न आवश्यक अध्ययनका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको एक टोलीले यसैसाता कोसी ब्यारेजको स्थलगत निरीक्षण गर्दैछ । कोसी ब्यारेज धेरै पुरानो र जीर्ण भइसकेकाले यसको नयाँ विकल्प खोज्ने भन्ने विषयमा अध्ययन सुरु भइसकेको भौतिक मन्त्रालयको भनाइ छ ।
ब्यारेजको विकल्पमा पूर्व–पश्चिम रेलमार्गका लागि चाहिने पुलसँगै जोडेर नयाँ पुल बनाउने, कोसीटप्पु बन्जन्तु आरक्ष नजिकबाट नयाँ सडकसहितको पुल बनाउने, रेल र सडक एउटै स्थानबाट तलमाथि राखेर लैजाने वा लौकी हिमाल छेउबाट राजमार्ग लैजान सकिने लगायतका विकल्प छन् । सरकारले स्थलगत अध्ययनबाट यसमध्ये सबैभन्दा उपयुक्त कुन विकल्प  तय गर्नेछ ।

महेन्द्र राजमार्गको नारायणगढदेखि बुटवलसम्मको एक सय १५ किलोमिटर र कमला कन्चनपुर ८७ किलोमिटर सडक स्तारोन्नति गर्ने विषयमा आवश्यक प्रक्रिया नै अगाडि बढिसकेको छ । यो सडकखण्डको पहिलो खण्डको रूपमा चालू आवमा नै ठेक्का लगाउने गरी नारायणगढ बुटवल खण्ड तयार भइसकेको छ । यो खण्डमा करिब १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । एडीबीकै ऋण सहयोगमा यो राजमार्ग विस्तार गर्न लागिएको पनि भौतिक मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले महेन्द्र राजमार्गको विकल्पमा झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्मको मदन भण्डारी राजमार्गले जोड्ने भएको छ । यो राजमार्ग निर्माण गर्न सरकारले चालु आवकै निम्ति चार अर्ब ५० करोड बजेट विनियोजन गरिसकेको छ । पूर्वपश्चिम जोड्नकै लागि हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि निर्माणाधीन छन् । महेन्द्र राजमार्ग हाल दुई लेनको मात्रै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर