Aamsanchar

झारफुक र जडीवुटीको भरमा ८० बसन्त बिताएका निरबुधीले पहिलोपटक स्वास्थ्य सेवा लिए

Author Image
आइतवार, साउन २७, २०७५

झापा।

बिर्तामोड–९ मुसहर वस्तीका निरवुधी मुसहरले ८० वर्षको उमेरमा पहिलोपटक स्वास्थ्य सेवा लिए । झारफुक र जडीवुटीको भरमा ८० बसन्त बिताएका उनले गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविरमा पुगेर स्वास्थ्य सेवा लिन पाउँदा दंग परेका थिए ।

मुसहर वस्ती विकास निर्माण समितिले मुसहर समुदायलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको थियो । सो शिविरमा निरवुधीले हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. लक्ष्मी मैनाली समक्ष स्वास्थ्य जाँच गराएका थिए । वुढ्यौलीका कारण अस्वस्थ बनेका उनको स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि र भिटामिन समेत शिविरमा निःशुल्क प्रदान गर्दा चकित बनेका उनले भने– ‘हामी जस्ता गरिवको पनि दिन आउँदोरहेछ ।’ ‘अहिलेसम्म कतिपटक बिरामी भएँ ठेगान छैन, तर एकपटक पनि औषधि खाएको थिएन– निरवुधीले भने– ‘पेट पाल्न त धौ–धौ हुन्छ, बिरामी हुँदा कहाँबाट औषधि किनेर खानु ?’

मुुसहर बस्तीका निरवुधी प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता अधिकांश मुसहरले सो स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य जाँच गराउँदै स्वास्थ्य लाभ लिएका छन् । उच्च रक्तचापका कारण विरामी बनेका ४० वर्षीय मेघु ऋषिदेव पनि स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य जाँच गराउँन पाउँदा दंग परे । निःशुल्क जाँच हुन्छ भन्ने सुनेको थिएँ, औषधि किन्ने पैसा नहुँदा बिरामी भएर पनि जचाउँन गएको थिइनँ– उनले भने– ‘घर छेउमै शिविर हुँदा मात्रै आएकोे, यहाँ त औषधि पनि निःशुल्क दिए, भिटामिनको पनि पैसा लिएनन्, यस्ता शिविर फेरि फेरि भए हामीजस्ता गरीवलाई फाइदा हुने रहेछ ।’

शिविरमा स्वास्थ्य जाँच गराउन १० महिने काखे नानी बोकेर आएकी कोलाटोलीकी २५ वर्षीया लक्ष्मी टुडूले भनिन्– ‘अस्पताल जाँदा धेरै पैसा खर्च हुने थियो, गाउँमै स्वास्थ्य शिविर छ भन्ने सुनेर नानी बोकेर आएकी हुँ ।’ दुई महिनादेखि ढाड दुखिरहन्छ काम नगरी सुखै छैन– उनले भनिन्– श्रीमान पनि लेवर काम गर्नु हुन्छ, औषधि गर्न धेरै पैसा लाग्ला भनेर यत्तिकै बसेकी थिएँ, आज निःशुल्क शिविर छ भनेको सुनेर आएकी हुँ । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा उनी पनि दंग छिन् । उनीहरु जस्ता निम्न आय भएका धेरैले सो शिविरमा निःशुल्क स्वाथ्य सेवा लिँदै औषधि समेत निःशुल्क पाए ।


मुसहर वस्ती विकास निर्माण समितिका अध्यक्ष इन्द्रसिंह राजवंशीका अनुसार शिविरमा सात सय १० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । एलोपेथिक सेवा लिने पाँच सय ४० र आयुर्वेदिक सेवा लिने एक सय ७० रहेको नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका उपसभापति सजेश शिवाकोटीले बताए । शिविरमा तीन लाख रुपैयाँ बराबरको औषधि समेत निःशुल्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक जीवनकुमार खड्काले जानकारी दिए ।

मुसहर बस्ती विकास निर्माण समितिको आयोजना, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग र बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको सहकार्यमा शिविर सम्पन्न भएको हो ।

शिविरमा आउन–जानका लागि निःशुल्क सवारीको व्यवस्था मिलाएको बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रकी कोषाध्यक्ष जानुका मगरले बताइन् । शिविरमा बिर्तामोड ३, ९, १०, ६ र ८का सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए । केही समयभित्रै सोही ठाउँमा बालबालिकालाई लक्षित गर्दै शिविरको आयोजना गर्ने मुसहर वस्ती विकास निर्माण समितिका अध्यक्ष राजवंशीले बताए ।

शिविरमा डा. मैनालीसहित फिजिसियन दीपेश पोखरेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ ककता घिरौया, नाक कान घाँटी रोग विशेषज्ञ डा. रणधीर राजवंशी, आयुर्वेेद चिकित्सक अहिल्या मैनाली, पूर्ण–टुङ बिर्तासिटी अस्पतालका मेडिकल अधिकृत उत्सव श्रेष्ठ लगायतले सेवा प्रदान गरेको बिर्तामोड नगरपालिकाकी स्टाफ नर्स सुस्मिता आचार्यले बताइन् ।

मुसहर बस्ती विकास निर्माण समितिका अध्यक्ष राजवंशीले स्वागत गरेको शिविरको उद्घाटन प्रदेश सांसद एकराज कार्कीले गरेका थिए । शिविरमा बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, वडा नम्वर ३का अध्यक्ष भोजराज सिटौला, ६का अध्यक्ष सूर्य कन्दङ्वा लगायतले बोलेका थिए । बिर्तामोड–९की अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार इन्द्र श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर