
काठमाडौं – नेकपा (एमाले) नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आगामी आर्थिक वर्षको बजेटले पुरानै ठूला आयोजना र कार्यक्रमहरूलाई निरन्तरता दिएको टिप्पणी गरेकी छन् ।
बजेटमाथि आफ्नो धारणा राख्दै उनले निजी क्षेत्रको प्रवर्द्धन र वैदेशिक लगानी आकर्षणका लागि गरिएका केही व्यवस्था सकारात्मक भए पनि कार्यान्वयन र लक्ष्य प्राप्तिको पक्ष चुनौतीपूर्ण रहेको बताएकी छन् ।
नेतृ झाँक्रीले निजी क्षेत्रलाई प्रोत्साहन गर्न पुराना करका दायित्व, जरिबाना र ब्याज मिनाहा गर्नेजस्ता ल्याइएका ‘स्किम’ सकारात्मक रहेको उल्लेख गरिन् ।

विशेषगरी तयारी वस्तुको तुलनामा कच्चा पदार्थको भन्सार दर एक तह कम गर्ने निर्णयले स्वदेशी उद्योगलाई राहत पुग्ने उनको भनाइ छ ।
वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई)का लागि ‘वान स्टप सेन्टर’को प्रभावकारी सञ्चालन र निर्यातमा दिइएका सुविधाहरूले लगानीको वातावरण बनाउन सहयोग पुग्ने उनको अपेक्षा छ ।
सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई उनले ‘पेचिलो’ भएको बताइन् ।
करिब एक खर्बको पुँजीगत खर्च गरेर उक्त लक्ष्य हासिल गर्नु कठिन हुने उनको तर्क छ । उनले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिँदै हालको वित्तीय व्यवस्थापनको दायित्वले नयाँ लगानीका लागि स्थान कम रहेको तर्क गरिन् ।
“१४ खर्ब राजश्व उठाउने लक्ष्य राखिएको छ, जुन वर्तमान अवस्थामा चुनौतीपूर्ण छ । कर प्रशासनलाई चुस्त बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म यो लक्ष्य भेट्टाउन सहज छैन,” उनले भनिन् ।


