Aamsanchar

सार्वजनिक शौचालय बिनै बिर्तामोड खुल्लादिसा मुक्त / नगरपालिकाका प्रवक्ता पाण्डे भन्छन्– ‘पेट्रोल पम्प र कम्लेक्सका शौचालय नै सार्वजानिक शौचालय हो’

Author Image
आइतवार, भदौ १०, २०७५

 

बिर्तामोड।

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड सार्वजनिक शौचालय विनै खुल्लादिसा मुक्त नगर घोषित भएको छ । बिर्तामोड नगरपालिकालाई शुक्रवार तामझामका साथ खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको हो । तर, नगर क्षेत्रमा सार्वजनिक शौचालय भने छैनन् ।

१० वटा वडा मध्ये केही वडामा प्रयोग विहिन हुन लागेका पुराना सार्वजनिक शौचालय रहे पनि अधिकांश वडामा सार्वजनिक शौचालय नभएको सम्बन्धित वडाका वडाध्यक्षहरुले स्वीकार गरेका छन् । नेपाललाई सन् २०१७ भित्रै देशलाई खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारले लक्ष्य राखे पनि उक्त लक्ष्यमा सरकार असफल भइसकेको छ ।

झापामा पनि तत्कालीन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले झापालाई गत असार मसान्तभित्रै खुल्ला दिसामुक्त गरिसक्ने घोषणा गरेपनि उक्त अभियानमा झापा असफल रह्यो । ८१ हजार आठ सय ७८ जनसंख्या रहेको बिर्तामोड नगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको भन्दै सार्वजनिक शौचालय बनाएको छैन ।

शुक्रवार बिर्तामोड नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेपछि बिर्तामोड क्षेत्रका सबै वडाध्यक्षलाई सम्पर्क गरी सार्वजनिक शौचालय छ, या छैन भन्ने प्रश्नमा अधिकांश वडाध्यक्षले सार्वजनिक शौचालय नभएको स्वीकार गरेका छन् । उनीहरुले सार्वजनिक शौचालय निर्माणका लागि पहल गरिरहेको भने बताएका छन् ।

वडा नं. १का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो वडामा सार्वजनिक शौचालय भनेर निर्माण नगरिए पनि नगर क्षेत्रमा रहेका पेट्रोल पम्प, कम्पलेक्स लगायतले निर्माण गरेका शौचालय नै सार्वजनिक शौचालय भएको दावी गरेका छन् । उनले पम्पहरुले प्रयोग गर्ने गरेका शौचालय सार्वजनिक यात्रुहरुले सहज रुपमा प्रयोग गर्न पाउने बताएका छन् । नगरपालिकाका प्रवक्ता पाण्डे भन्छन्– पेट्रोल पम्प र कम्लेक्सका शौचालय नै सार्वजानिक शौचालय हो । जग्ग अभावले गर्दा सार्वजनिक शौचालय निर्माण गर्न नसकेकाले पेट्रोलपम्प तथा कम्प्लेक्सहरुले प्रयोग गर्ने शौचालयलाई सार्वजनिक शौचालयको रुपमा सञ्चालनमा ल्याइएको उनले जिकिर गरेका छन् ।

त्यस्तै वडा नं. २का वडाध्यक्ष नगेन्द्र संग्रौलाले आफ्नो क्षेत्रमा सार्वजनिक शौचालय नभएको स्वीकार गरेका छन् । शौचालय निर्माणका लागि बजेट विनियोजन गरेर उपयुक्त जग्गाको खोजीमा रहेको भन्दै सार्वजनिक शौचालय बनाउने बताएका छन् । १७ हजार जनसंख्या रहेको वडा नं. २मा तीन हजार ३२ घरधुरी रहेको बताएका छन् । उनले पैदल यात्रीहरुलाई सार्वजनिक शौचालय प्रयोग गर्न असहज भई महशुस गरेर उपयुक्त स्थानमा शौचालय निर्माण गरिने बताएका छन् । वडा नं. ३का वडाध्यक्ष भोजराज सिटौलालाई सम्पर्क गर्दा उनको मोवाइल स्वीच अफ रहेको थियो ।

त्यस्तै वडाध्यक्ष कूलप्रसाद संग्रौलाले आफ्नो वडामा सार्वजनिक शौचालय नभएको बताएका छन् । सार्वजनिक शौचालय नभए पनि बिर्तामोड नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरेपछि अब आफूहरुमाथि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने नैतिक दबाब सृजना भएको बताएका छन् । उनले सार्वजनिक शौचालय छैन भनिरहँदा आफैलाई लज्जा महशुस भइरहेको बताएका छन् । त्यसका विभिन्न ठाउँबाट यात्रु ओहोरदोहोर हुने बिर्तामोडमा सार्वजनिक शौचालय नहुने नगरपालिकाकै लागि चुनँैतिको विषय भएको वडाध्यक्ष संग्रौलाले स्वीकार गरेका छन् ।

त्यस्तै वडा नं. ५का वडाध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो वडा क्षेत्रमा दुई वटा पुरानै भए पनि सार्वजनिक शौचालय रहेको बताएका छन् । दुबै शौचालय प्रयोगमा रहेको भन्दै बजार क्षेत्रलाई केन्द्रित गरेर थप सार्वजनिक शौचालय निर्माण गर्नका लागि आफूले योजना बनाइरहेको बताएका छन् । उनका कारण कृषिथोक बजार र बुधवारे बजारमा २०६६÷०६७मा निर्माण गरिएका सार्वजनिक शौचालय रहेको बताए ।

त्यस्तै वडा नं. ६कमा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नं. ७का वडाध्यक्ष गंगा भट्टराई, वडा नं. ९की वडाध्यक्ष पवित्रा पाठक, वडा नं. १०का दूर्योधन गुरुङसँग सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन् ।

वडा नं. ८का वडाध्यक्ष अजय कार्कीले आफ्नो वडामा एउटा सार्वजनिक शौचालय भएको दावी गरेका छन् । गरामनी बजार क्षेत्रमा एउटा सार्वजनिक शौचालय बनाएको भन्दै थप शौचालय निर्माणका लागि पहल गरिरहेको वडाध्यक्ष कार्कीले बताएका छन् । आफ्नो वडामा रहेका वडावासीको समस्यालाई ध्यान दिँदै सार्वजनिक शौचालय निर्माणका लागि आफू लागीपरेको उनले बताएका छन् । आफ्नो वडामा ११ सय घरधुरी रहेको र अधिकांशले शौचालय निर्माण गरेको अध्यक्ष कार्कीले दावी गरेका छन् ।

यात्रुलाई सहज रुपमा प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालय निर्माणका लागि आफू लागीपरेको उनले दावी गरेका छन् । अधिकांश वडाका वडाध्यक्षहरुले आफ्नो क्षेत्रमा सार्वजनिक शौचालय नभएको उल्लेख गरेका छन् । दिनप्रतिदिन जनघनत्व बढ्दै गएको बिर्तामोड नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा पैदलयात्रुले सास्ती व्यहोर्दै आएका छन् ।

यता राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले सार्वजनिक कुनै पनि वडामा सार्वजनिक शौचालय नभएको दावी गरेका छन् । वडा कार्यालयमा सार्वजनिक शौचालय नबनाउने तर बिर्तामोडलाई तामझामका साथ खुल्ला दिसामुक्त बन्दै बजेट सिध्याउने वहाना हास्यास्पद भएको बताएका छन् । उनले जनप्रतिनिधिलाई सस्तो लोकप्रियताको पछि नकुद्न आग्रह गरेका छन् । बिर्तामोडमा सार्वजनिक शौचालय नभएको अवस्थामा कसरी खुल्ला दिसामुक्त भयो भन्दै प्रश्न समेत गरेका छन् ।

त्यस्तै अधिकांश पैदलयात्रीले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा शौच गर्न समस्या हुने गरेको बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकालाई दिएको घुम्ती शौचालय समेत प्रयोगविहीन अवस्थामा पु¥याएर नगरपालिकाले खुल्ला दिसामुक्त घोषणा गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)