Aamsanchar

दुर्घटना रोक्न अब झापामा चालकको आँखा परीक्षण

Author Image
बुधवार, असोज २४, २०७५

बिर्तामोड ।

नेपामा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना रहेको सरकारी तथ्याङ्क छ ।

अन्धोपन निवारणमा लागि सरकारले सन् १९९९ नोभेम्बरमा ‘भिजन ट्वेन्टी–ट्वेन्टी’ २० वर्षे कार्यक्रम घोषणा गरी कार्ययोजना लागू गर्दै आँखा स्वास्थ्य सेवामा प्राथमिकता दिएको छ ।

डब्लु.एच.ओ र आइ.ए.पि.बी.ले सन् १९९९ को फेव्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न भिजन ‘ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट’ कार्यक्रम घोषणा गरेका थिए । जस अन्तर्गत आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपनाको मान्यतामा रहेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।

यसैक्रममा ‘दृष्टि सवैको लागि सधैंका लागि’ भन्ने मूल नारा सहित यो वर्ष मेची आँखा अस्पतालले विश्व दृष्टि दिवस मनाउने भएको छ । मेची आँखा अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै यो वर्ष सवारी चालकको आँखा परीक्षण गर्ने भएको हो ।

विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइ.ए.पि.बी.को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउन थालिएको र यो वर्षपनि २५ गते विहीवार सवारी चालकको आँखा जाँच गर्दै दिवस मानउन लागिएको अस्पताल परिसरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यमा सुधारका लागि कार्यक्रम केन्द्रित रहेपनि सवारी चालकले आँखा जाँच नगराउदा दुर्घटनाको उच्च जोखिम रहनेभएकाले ट्राफिक प्रहरीसंग सहकार्य गर्दै सवारी चालकको आँखा जाँच गराउन लागिएको मेची आँखा अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिनुभयो । रौनियारका अनुसार बिर्तामोडस्थित नयाँ वसपार्क परिसरमा सवारी चालकको आँखा जाँच गरिने छ ।

विहान ९ वजेबाट वेलुका ४ वजेसम्ममा एक हजार चालकको आँखा जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यँलय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए । उनले भने –‘ चालकलाई झट्ट हेर्दा राम्रो र निरोगी देखिएपनि विस्तारै आँखाको ज्योति गुम्दै गएको रहेछ भने उसले दुर्घटना गराउन सक्छ त्यसैले चालकले अनिवार्य आँखा जाँच गराउन आवश्यक छ ।’

पाँच वर्षमा सवारी चालक अनुमति पत्रपनि नविकरण गरिने बताउँदै प्रहरी निरीक्षक राईले भने–‘ वर्षमा एक पटक चालकले मात्र होइन आम सर्वसाधारणले पनि आँखा जाँच गराउन जरुरी छ ।’

विश्व दृष्टि दिवसको विषयमा जानकारी गराउँदै अस्पतालका प्रशासकीय अधिकृत रौनियारले सवै सवारी चालकलाई निःशुल्क आँखा जाँच गराउन र आफ्नो आँखाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिन आग्रह गरे ।
आँखा अस्पतालले अहिले आफ्नो नियमित सेवा वाहेक ६ देखि १८ वर्षसम्मका विद्यार्थीको आँखा जाँच गरिरहेको जनाएको छ । विद्यालयमै गएर विद्यार्थीको आँखा परीक्षण गर्ने गरेको र तीन वर्षमा दुई लाख वालवालिकाको निःशुल्क आँखा जाँच गर्ने बताइएको छ ।

यसैबीच अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले मधुमेह, उच्च रक्तचाप, वाथका रोगीले नियमित आँखा जाँच गराउन आग्रह गरेका छन् । चेतना अभावका कारणमा अधिकांशले आँखा जाँच नगराउँदा समस्या हुने गरेको बताउँदै उनले भने –‘ मधुमेह, उच्च रक्तचाप,वाथका रोगी हुनुहुन्छ भने एक पटक आँचको पनि जाँच गराउनुहोस् ।’

५ वर्ष मुनिका वालवालिका र ४० वर्ष माथिका मानिसले पनि नियमित आँखा जाँच गराउन सल्लाह दिँदै डा जोशीले भने –‘कुनै एक आँखा कम जस्तो देखिने गरेको जस्तो लाग्छ भनेमात्रैपनि आँखा जाच गराउनु पर्छ ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर