Aamsanchar

के छ नवरात्रभर पढिने दुर्गा सप्तशतीमा ?

Author Image
बुधवार, असोज ३१, २०७५

काठमाडौं,

बडादशैँ अर्थात् नवरात्रमा देवीको महिमायुक्त पुराण, माहात्म्य पढ्ने गर्छन्, श्रद्धालुहरू। प्रत्येक दिन दुर्गा भगवतीको पूजा अर्चना सकिएलगत्तै देवीमाहत्म्य पाठ गर्ने चलन छ।

यो समयमा पढिने मुख्य ग्रन्थ हो, दुर्गा सप्तशती (चण्डी)। मार्कण्डेय पुराणमा भएको ७०० श्लोकयुक्त देवी माहत्म्यलाई चण्डी भनिन्छ। ७०० श्लोक भएकाले चण्डीलाई ‘सप्तशती’ भनिएको बताइन्छ।

दुर्गासप्तशती मार्कण्डेय ऋषिले भगवती दुर्गाको महिमाबारे बताएका श्लोकहरूको संग्रह हो। यसमा १३ अध्याय छ।  दुर्गा सप्तशतीकाे प्रारम्भिक कथा यस्तो छ, स्वारोचिष मनुका छोरा सुरथ नामका राजा आफ्ना शत्रुहरूद्वारा पराजित भई मेधा ऋषिको आश्रममा पुग्छन्।

यसैगरी प्रशस्त धनसम्पत्ति भए पनि परिवारबाट अपहेलित भएका समाधि नामका वैश्य पनि त्यहाँ आइपुग्छन्।  दुवै जनाले आफ्ना दुःख निवारण र परिवारको मोह त्याग्न अपनाउनुपर्ने सूत्रबारे जिज्ञासा राख्छन्।

मेधा ऋषिले  विष्णुकी शक्ति महामाया भगवतीको शरणमा जाने सल्लाह दिन्छन्। ‘जसले सम्पूर्ण चराचर जगत उत्पन्न गरी मुक्ति पनि दिन्छिन्, उनैको शरणमा जाऊ’, उनी भन्छन्।

‘महामाया को हुन्, यिनले कसरी मानिसलाई मुक्ति दिन्छिन्’ भन्ने राजा सुरथकोे प्रश्नको जवाफमा मेधा ऋषिले भगवती दुर्गाले दुष्ट दानवहरूको विनाश गरी देवताहरूलाई सुखशान्ति दिलाएका विभिन्न प्रसंग सुनाउँछन्।  देवता तथा मानिसहरूलाई दुःख दिने महिषासुर, शुम्भ, निशुम्भ, चण्ड–मुण्डलाई देवीले विभिन्न स्वरूप लिई वध गरेको प्रसंग सप्तशतीमा आउँछ।

यस क्रममा देवीहरूले लिएका स्वरूप र तिनको वर्णन पनि छ। देवताहरूले गरेको देवीको स्तुति पनि उल्लेख छ। तेह्रौँ अध्यायमा यी कथाहरू सुनाई मेधा ऋषिले सुरथ राजा र वैश्यलाई देवीको उपासना गर्न प्रेरित गर्छन्।

राजा सुरथ र दुवैले भक्तिपूर्वक देवीको आराधना गर्छन्। यसबाट प्रसन्न भई भगवती दुर्गाले गुमेको राज्य चाँडै पाउने शत्रु सबै नाश भई अर्को जन्ममा सावर्णि नामको मनु हुने वरदान दिन्छिन्। देवीले वैश्यलाई पनि मुक्तिका लागि ज्ञान प्राप्त हुने वरदान दिएको चण्डिमा उल्लेख छ।

चण्डी एकै बसाइमा पूरै (७०० श्लोक) पढ्नुपर्ने मान्यता छ। विधिपूर्वक चण्डी पाठ गर्नाले मनोकामना पूर्ण हुने विश्वास गरिन्छ।चण्डी पाठ गर्ने दुई विधि शास्त्रमा बताइएका छन्, पौराणिक र तान्त्रिक। विभिन्न कामना लिएर ‘पुटित, ‘सम्पुटित’ पाठ गर्ने तान्त्रिक परम्परा पनि छ।

चण्डीअघि कवच, अर्गला र कीलकलगायत देवीमाहात्म्य पढ्ने गरिन्छ। अरु दिन नसके पनि महाष्टमी र महानवमीमा मात्रै चण्डी पढ्ने पनि छन्। नवरात्रमा देवीभागवत महापुराण, देवीपुराण पनि पढ्ने परम्परा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)